

बैतडी – बैतडीको कोटपेटरा स्वास्थ्य चौकीमा डेढ महिनादेखि विद्युत् आपूर्ति अवरुद्ध हुँदा स्वास्थ्यकर्मीहरू टर्चलाइटको भरमा प्रसूति (डेलिभरी) सेवा सञ्चालन गर्न बाध्य भएका छन्। नियमित विद्युत् र वैकल्पिक ऊर्जा स्रोतको अभावले २४सै घण्टा सञ्चालन हुनुपर्ने स्वास्थ्य सेवा प्रभावित बनेको छ।
स्वास्थ्यकर्मीहरूका अनुसार टर्चलाइट चार्ज गर्नसमेत करिब ३० मिनेट टाढा पुग्नुपर्ने अवस्था छ। एकपटक चार्ज गरेको टर्च जम्मा ३ देखि ४ घण्टामात्र चल्ने भएकाले रातिको समयमा डेलिभरी सेवा सञ्चालन गर्न निकै कठिन हुने गरेको उनीहरूको भनाइ छ।
उनीहरूले पटक–पटक सम्बन्धित निकायलाई समस्या समाधानका लागि जानकारी गराए पनि हालसम्म विद्युत् आपूर्ति पुनःस्थापना हुन नसकेको बताएका छन्। सीमित स्रोतसाधनका बाबजुद सेवाग्राहीलाई निरन्तर सेवा दिइरहे पनि समस्या यथावत् रहे स्वास्थ्य सेवा सञ्चालनमै असर पर्ने र सेवा नै बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी स्वास्थ्यकर्मीहरूले दिएका छन्।
स्वास्थ्यजस्तो अत्यावश्यक सेवामा लामो समयसम्म विद्युत् नहुँदा सेवाग्राहीको सुरक्षा र उपचार सेवाको गुणस्तरमाथि नै प्रश्न उठेको छ। स्थानीयवासी तथा स्वास्थ्यकर्मीहरूले तत्काल विद्युत् समस्या समाधान गरी स्वास्थ्य चौकीमा निर्बाध सेवा सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग गरेका छन्।



