

धनगढी – सेती प्रादेशिक अस्पतालमा आईसीयू (सघन उपचार कक्ष) शय्या नपाएको कारण उपचारमा ढिलाइ हुँदा कैलालीको धनगढी उपमहानगरपालिका–१९ फूलबारीका ७२ वर्षीय विष्णुप्रसाद थारुको मृत्यु भएको भन्दै परिवारले अस्पताल व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाएको छ। अस्पतालले भने बिरामी अस्पताल आइपुग्दासम्म अवस्था अत्यन्त जटिल रहेको र सबै आईसीयू शय्या भरिएकाले आकस्मिक कक्षमै उपचार गरिएको जनाएको छ।
दमको समस्या बढेपछि परिवारले थारुलाई सुरुमा धनगढीकै एक निजी अस्पतालमा पुर्याएको थियो। तर चिकित्सकले तत्काल आईसीयूमा राख्नुपर्ने र प्रारम्भिक उपचारमै करिब एक लाख रुपैयाँ खर्च लाग्ने बताएपछि आर्थिक अभावका कारण परिवारले उनलाई सेती प्रादेशिक अस्पतालमा ल्याएको जनाएको छ।
मृतककी छोरी मनपतिदेवी चौधरीका अनुसार सरकारी अस्पताल पुगेपछि चिकित्सकले पनि आईसीयू आवश्यक रहेको बताए, तर शय्या खाली नभएकाले पर्खन भनिएको थियो। उनका अनुसार राति २ बजेसम्म पनि आईसीयू उपलब्ध नभएपछि बिहान ३ बजेदेखि बिरामीको अवस्था झन् बिग्रियो र बिहान करिब ४ बजे उनको मृत्यु भयो।
घटनापछि मनपतिदेवीले बुबाको अन्तिम अवस्थाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्दै आर्थिक अवस्था कमजोर भएका कारण समयमै उपचार नपाएको र आईसीयू अभावले ज्यान गएको आरोप लगाएकी छन्।
यता, सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी किशोर श्रेष्ठले बिरामीलाई निजी अस्पतालबाट राति करिब १२ बजे अन्तिम अवस्थामै ल्याइएको बताए। उनका अनुसार त्यसबेला अस्पतालका सबै १५ वटा आईसीयू शय्या गम्भीर बिरामीले भरिएका थिए।
श्रेष्ठले आईसीयू खाली नभए पनि बिरामीलाई आकस्मिक कक्षमै आवश्यक उपचार सेवा प्रदान गरिएको दाबी गरे। “बिरामी अस्पताल आइपुग्दासम्म अवस्था निकै गम्भीर थियो। आईसीयू शय्या खाली नभएकाले आकस्मिक कक्षमै उपचार गरिएको हो,” उनले भने।
सुदूरपश्चिम प्रदेशको प्रमुख रेफरल अस्पतालका रूपमा रहेको सेती प्रादेशिक अस्पताल सरकारी रूपमा ५० शय्याको स्वीकृतिमा सञ्चालन भए पनि हाल करिब ३०० शय्याबाट सेवा दिइरहेको छ। जनशक्ति र पूर्वाधार विस्तार भए पनि बिरामीको अत्यधिक चापका कारण विशेषगरी आईसीयू सेवामा व्यवस्थापन चुनौती बढ्दै गएको अस्पतालको भनाइ छ।



