

काठमाडौं- सरकारले सञ्चालनमा ल्याएको निःशुल्क उपचार पोर्टल मार्फत पछिल्लो ९० दिनमा २ हजार २ सयभन्दा बढी नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्। विपन्न, असहाय तथा बेवारिसे बिरामीलाई लक्षित गरी सुरु गरिएको यो प्रणालीमा आबद्ध अस्पतालको संख्या पनि निरन्तर बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक सातामा १३ अस्पताल थपिएसँगै पोर्टलमा आबद्ध अस्पतालको संख्या २ सय ३८ पुगेको छ। मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार अस्पतालहरूले कुल शय्याको १० प्रतिशत निःशुल्क उपचारका लागि छुट्याएर त्यसको विवरण नियमित रूपमा पोर्टलमा अद्यावधिक गरिरहेका छन्।
पोर्टलमार्फत नागरिकले घरबाटै देशभरका अस्पतालमा उपलब्ध निःशुल्क शय्या, खाली रहेको अवस्था तथा विभिन्न रक्तसञ्चार केन्द्रमा उपलब्ध रगतको मौज्दात रियल–टाइममा हेर्न सक्ने सुविधा पाएका छन्।
मन्त्रालयका अनुसार हालसम्म १ हजार ७६० भन्दा बढी नागरिकले निःशुल्क शय्याको सुविधा लिइसकेका छन्। बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सबैभन्दा धेरै २५१ निःशुल्क शय्या उपलब्ध रहेका छन् भने वीर अस्पतालमा निःशुल्क शय्याको सबैभन्दा बढी उपयोग भएको छ।
सरकारले संविधानले सुनिश्चित गरेको निःशुल्क स्वास्थ्य उपचारको अधिकार प्रभावकारी रूपमा कार्यान्वयन गर्न तथा स्वास्थ्य संस्था सञ्चालन मापदण्ड–२०७७ अनुसार कुल शय्याको कम्तीमा १० प्रतिशत विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याउने व्यवस्थालाई सूचना प्रविधिमार्फत कार्यान्वयन गर्न यो पोर्टल सञ्चालनमा ल्याएको हो।
मन्त्रालयले हालै ‘निःशुल्क उपचार पोर्टल (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३’ स्वीकृत गरी सार्वजनिक गरेको छ। कार्यविधिअनुसार निःशुल्क शय्यामा भर्ना भएका बिरामीलाई अस्पतालमा उपलब्ध सबै स्वास्थ्य सेवा पूर्ण रूपमा निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
मन्त्रालयका अनुसार अझै धेरै नागरिकलाई यस सेवाबारे जानकारी नपुगेकाले यसको उपयोग अपेक्षाकृत कम रहेको छ। जनचेतना बढेसँगै सेवाग्राहीको संख्या थप वृद्धि हुने अपेक्षा गरिएको छ।


