

काठमाडौं- विश्वप्रसिद्ध अष्ट्रेलियाली क्यान्सर विशेषज्ञ तथा सन् २०२४ का ‘अष्ट्रेलियन अफ द इयर’ रिचर्ड स्कोलियरको ५९ वर्षको उमेरमा निधन भएको छ। मस्तिष्कको अत्यन्त आक्रामक क्यान्सर ‘ग्लियोब्लास्टोमा’सँग लामो संघर्षपछि उनको आइतबार राति निधन भएको हो।
स्कोलियर मेलानोमा इन्स्टिच्युट अष्ट्रेलियाका सह-चिकित्सा निर्देशक तथा वरिष्ठ रोगविज्ञ (प्याथोलोजिस्ट) थिए। उनले आफ्नी लामो समयकी सहकर्मी डा. जर्जिना लङसँग मिलेर विकास गरेको इम्युनोथेरापी उपचारले उन्नत अवस्थाको मेलानोमा (छालाको क्यान्सर) उपचारमा ऐतिहासिक परिवर्तन ल्याएको थियो। यस उपलब्धिका लागि दुवैलाई संयुक्त रूपमा सन् २०२४ को ‘अष्ट्रेलियन अफ द इयर’ घोषणा गरिएको थियो।
सन् २०२३ मा स्कोलियरलाई ग्लियोब्लास्टोमा भएको पुष्टि भएपछि उनले आफ्नै शरीरमा विश्वमै पहिलो पटक मेलानोमा उपचारबाट प्राप्त ज्ञानलाई मस्तिष्कको क्यान्सरमा प्रयोग गर्ने प्रयोगात्मक उपचार स्वीकार गरेका थिए। शल्यक्रियाअघि इम्युनोथेरापी दिने यो नयाँ विधिले क्यान्सरविरुद्ध शरीरको प्रतिरक्षा प्रणाली सक्रिय बनाउने उद्देश्य राखेको थियो। यही उपचार पद्धतिमा आधारित क्लिनिकल परीक्षण अमेरिकामा यसै वर्ष सुरु गरिएको थियो।
आफ्नो निधनपछि सार्वजनिक गर्न लेखिएको पत्रमा स्कोलियरले ३५ वर्षको चिकित्सकीय जीवनभर बिरामीको उपचार, क्यान्सर अनुसन्धान र मानव जीवन सुधारमा समर्पित रहेको उल्लेख गर्दै अन्तिम घडीमा पनि चिकित्सा विज्ञानमा योगदान दिन चाहेको बताएका छन्। उनले आफ्नो रोगको यात्रा सार्वजनिक गर्नुको उद्देश्य क्यान्सर बिरामी र उनीहरूका परिवारले भोग्ने वास्तविकता उजागर गर्नुका साथै भविष्यको अनुसन्धानप्रति आशा जगाउनु रहेको बताएका थिए।
अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले स्कोलियरलाई “देशका सबैभन्दा उज्याला र मानवीय व्यक्तित्वमध्ये एक” भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले स्कोलियरको सम्मानमा सिड्नीस्थित क्रिस ओ’ब्रायन लाइफहाउस क्यान्सर केन्द्रमा स्थापना गरिएको ‘रिचर्ड स्कोलियर चेयर’ले उनको नाम सदैव जीवित राख्ने विश्वास व्यक्त गरेका छन्।
स्कोलियरका श्रीमती डा. केटी निकोल तथा तीन सन्तान एमिली, म्याथ्यु र लुसी छन्। उनले आफ्नो अन्तिम योगदानले भविष्यका क्यान्सर बिरामीलाई थप समय, आशा र नयाँ उपचारको सम्भावना प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।


