

विराटनगर – विराट मेडिकल कलेज टिचिङ हस्पिटलअन्तर्गतको विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर बिरामीको पुनःस्थापना सेवालाई थप सुदृढ बनाउन अंकोलोजी फिजियोथेरापी विशेषज्ञ अस्मिता श्रेष्ठलाई सेवा सुरु गराएको छ।
अस्पतालका अनुसार अंकोलोजी फिजियोथेरापीमा उच्च शिक्षा हासिल गरेकी श्रेष्ठ नेपालकी पहिलो विशेषज्ञ फिजियोथेरापिस्ट हुन्। उनले अब अस्पतालको फिजियोथेरापी विभागबाट क्यान्सर बिरामीलाई परामर्श तथा उपचार सेवा प्रदान गर्नेछिन्।
अस्पतालले शल्यक्रिया, किमोथेरापी वा अन्य उपचारपछि धेरै क्यान्सर बिरामीले शारीरिक कमजोरी, अंग चलाउन कठिनाइ तथा दैनिक जीवनमा फर्किन समस्या भोग्ने भएकाले यस्तो विशेषज्ञ सेवाको आवश्यकता रहेको जनाएको छ। श्रेष्ठको आगमनसँगै उक्त क्षेत्रमा रहेको सेवाको अभाव कम हुने विश्वास अस्पतालले व्यक्त गरेको छ।
श्रेष्ठले काठमाडौं मेडिकल कलेज स्कुल अफ मेडिकल साइन्सेज, धुलिखेलबाट फिजियोथेरापीमा स्नातकोत्तर अध्ययन गरेकी हुन्। त्यसपछि भारतको कर्नाटकस्थित केएलई एकेडेमी अफ हायर एजुकेशन एन्ड रिसर्चबाट अंकोलोजी फिजियोथेरापीमा विशेषज्ञता हासिल गरेकी अस्पतालले जनाएको छ।
उनले क्यान्सर उपचारपछिको शारीरिक पुनर्स्थापना, अंगको चलायमान क्षमता सुधार, मांसपेशीको शक्ति वृद्धि तथा बिरामीलाई दैनिक जीवनमा सहज रूपमा फर्काउन व्यक्तिगत र समूहगत फिजियोथेरापी सेवा उपलब्ध गराउनेछिन्। उनको सेवा आइतबारदेखि शुक्रबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म उपलब्ध हुनेछ।
सन् २०१६ देखि सञ्चालनमा रहेको अस्पतालको फिजियोथेरापी विभागले हाल दैनिक १०० भन्दा बढी बिरामीलाई सेवा दिने क्षमता विकास गरिसकेको छ। विभागमा अर्थोपेडिक, स्पोर्ट्स, न्युरोलोजी, कार्डियो, बालरोग तथा स्त्रीरोगसम्बन्धी विशेषज्ञ टोली कार्यरत रहेको अस्पतालले जनाएको छ।


