

विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बीएमसीटीएच) मा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न भएको छ। ‘इमेजिङ टुडे, इम्प्याक्टिङ टुमरो’ नारासहित आयोजित सम्मेलनमा नेपाल, भारत र बंगलादेशका विशेषज्ञ चिकित्सकहरूले न्यूक्लियर मेडिसिन र मोलिक्युलर इमेजिङका नवीनतम प्रविधिबारे अनुभव आदानप्रदान गरेका छन्।
असार २७ गते शनिबार हस्पिटलको सेन्ट्रल हलमा आयोजित ‘इन्टरनेशनल कन्फरेन्स अन न्यूक्लियर मेडिसिन–बीएमसीटीएच’ न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागले आयोजना गरेको हो। सम्मेलनमा मोलिक्युलर इमेजिङ, थेरानोस्टिक्स, रेडियोआइसोटोप थेरापीलगायत विषयमा विशेष प्रस्तुति दिइएको थियो।
कार्यक्रममा बंगलादेशका प्रा. डा. मिजानुल हसन, डा. मोल्ला अब्दुल वहम, प्रा. डा. सनोवार हुसैन, प्रा. डा. फारिया नर्सिन र प्रा. डा. जास्मिन आरा हक तथा भारतको आरजिसीआईआरसी, नयाँ दिल्लीका प्रा. डा. मनोज गुप्ताले आफ्नो अनुभव प्रस्तुत गरेका थिए। नेपालबाट डा. अमरदीप चौधरी, डा. सुमन श्रेष्ठ, डा. सागर महर्जन र डा. सुधीर केसीले पनि वैज्ञानिक प्रस्तुति दिएका थिए।

आयोजकका अनुसार काठमाडौं, पोखरा, चितवन, झापा, सुनसरी, मोरङलगायत देशका विभिन्न भागबाट ३०० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी र सरोकारवालाको सहभागिता रहेको थियो।
बिराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग स्थापना गरिसकेको छ। साथै, पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि आवश्यक हाइपेक सेवा पनि पूर्वमै पहिलोपटक यही अस्पतालबाट सञ्चालनमा ल्याइएको छ।
न्यूक्लियर मेडिसिन रेडियोएक्टिभ पदार्थको प्रयोगमार्फत शरीरका आन्तरिक अंगहरूको कार्यप्रणाली जाँच्ने र उपचार गर्ने आधुनिक चिकित्सा विधि हो। यसले क्यान्सरको प्रारम्भिक पहिचान, मुटुको रक्तप्रवाह परीक्षण, हड्डीसम्बन्धी रोग तथा थाइरोइड समस्याको निदानमा महत्वपूर्ण भूमिका खेल्ने चिकित्सकहरूले बताएका छन्। मोलिक्युलर इमेजिङ प्रविधिले कोशिकास्तरमै हुने परिवर्तन पहिचान गर्न सक्ने भएकाले रोगको सुरुआती अवस्थामै निदान गर्न सहज हुने विश्वास गरिएको छ।
हाल अस्पतालको न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागबाट क्यान्सर, मुटुरोग, हड्डी, मिर्गौला, कलेजो, फोक्सो र थाइरोइडसम्बन्धी रोगको आधुनिक निदान तथा उपचार सेवा उपलब्ध भइरहेको अस्पतालले जनाएको छ। रेडियोएक्टिभ आयोडिन थेरापी, रेडियोन्यूक्लाइड उपचार, न्यूरोएन्डोक्राइन ट्युमरको लक्षित उपचार तथा रेडियोसिनोभेक्टोमीजस्ता सेवा पनि विभागले प्रदान गर्दै आएको छ।
सम्मेलनकै अवसरमा न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभाग र न्यूरो साइन्स विभागका लागि निर्माण गरिएको नयाँ भवनको पनि उद्घाटन गरिएको छ। आयोजकले यस सम्मेलनले क्षेत्रीय स्तरमा ज्ञान, प्रविधि र अनुभव आदानप्रदानलाई थप मजबुत बनाउने तथा पूर्वी नेपालका बिरामीले आधुनिक स्वास्थ्य सेवाको प्रत्यक्ष लाभ पाउने विश्वास व्यक्त गरेको छ।



