

काठमाडौं – बोसोयुक्त कलेजो रोगको गम्भीर अवस्था ‘मेटाबोलिक डिसफङ्सनसँग सम्बन्धित स्टिएटोहेपाटाइटिस (म्यास)’ को उपचारमा नयाँ आशा जगाउने अनुसन्धान सार्वजनिक भएको छ। अमेरिकाको मिशिगन विश्वविद्यालयका अनुसन्धानकर्ताले विकास गरेको डीटी–१०९ नामक प्रयोगात्मक औषधिले जनावरमा गरिएको परीक्षणमा गम्भीर बोसोयुक्त कलेजो रोगलाई उल्लेखनीय रूपमा घटाएको पाइएको छ।
यो अध्ययन जर्नल अफ क्लिनिकल इन्भेस्टिगेसन मा प्रकाशित भएको हो। अनुसन्धानका अनुसार यो औषधिले कलेजोलाई मात्र लक्षित नगरी आन्द्राको स्वास्थ्य सुधारेर रोग नियन्त्रण गर्ने नयाँ उपाय प्रस्तुत गरेको छ।
विश्वभर करिब सात प्रतिशत मानिसमा देखिने ‘म्यास’ बोसोयुक्त कलेजो रोगको गम्भीर रूप हो। समयमै उपचार नभए यसले कलेजो कडा हुने (सिरोसिस), कलेजोको क्यान्सर र कलेजोले काम गर्न छोड्ने जस्ता जटिल समस्या निम्त्याउन सक्छ। हालसम्म यसको प्रभावकारी उपचारका विकल्प सीमित छन्।
अनुसन्धानकर्ताका अनुसार डीटी–१०९ ग्लाइसिनमा आधारित सानो प्रोटिनयुक्त यौगिक हो। यसले आन्द्रा र कलेजोबीच हुने हानिकारक जैविक प्रक्रियालाई रोक्दै रोगको प्रगति उल्टाउन मद्दत गरेको देखिएको छ।
अध्ययनमा आन्द्राभित्र क्लोस्ट्रिडियम पर्फ्रिन्जेन्स नामक जीवाणु अत्यधिक बढ्दा अमोनिया उत्पादन हुने, त्यसले आन्द्राको भित्री सुरक्षात्मक तहलाई क्षति पुर्याउने र त्यसपछि हानिकारक पदार्थ रगतमार्फत कलेजोसम्म पुगेर सूजन तथा रोग बढाउने प्रक्रिया पहिचान गरिएको छ।
डीटी–१०९ ले उक्त जीवाणुको मात्रा घटाउनुका साथै अमोनिया उत्पादन कम गरेको, आन्द्राको सुरक्षात्मक तहलाई पुनः मजबुत बनाएको र कलेजोमा हुने सूजनलाई घटाएको अनुसन्धानले देखाएको छ।
मुसा र मानिससँग शारीरिक संरचना मिल्ने वानरमा गरिएको परीक्षणमा पनि औषधिले सकारात्मक नतिजा दिएको छ। अनुसन्धानकर्ताका अनुसार वानरमा प्राप्त नतिजाले भविष्यमा मानवमा पनि यसको प्रभावकारिता परीक्षण गर्ने आधार तयार गरेको छ।
अनुसन्धान टोलीले यो औषधि बोसोयुक्त कलेजो रोगमा मात्र नभई मुटु तथा रक्तनलीसम्बन्धी रोग र आन्द्राको दीर्घकालीन सूजनसम्बन्धी रोगको उपचारमा पनि उपयोगी हुन सक्ने सम्भावना रहेको जनाएको छ।
अब यस औषधिको सुरक्षा र प्रभावकारिता पुष्टि गर्न मानवमा क्लिनिकल परीक्षण गर्ने तयारी भइरहेको अनुसन्धानकर्ताहरूले बताएका छन्। उनीहरूका अनुसार परीक्षण सफल भए भविष्यमा बोसोयुक्त कलेजो रोगका बिरामीका लागि नयाँ र प्रभावकारी उपचार विकल्प उपलब्ध हुन सक्छ।


