

काठमाडौं – मनसुन सक्रिय भएसँगै डेङ्गी, हैजा, झाडापखला, औलोलगायतका रोग फैलिने जोखिम बढेपछि सरकारले रोकथाम तथा नियन्त्रणका लागि विशेष ‘प्रतिकार्य अभियान’ सञ्चालन गर्ने तयारी गरेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले संघ, प्रदेश र स्थानीय तहको समन्वयमा मनसुनजन्य रोगको जोखिम मूल्याङ्कन गरी त्यसअनुसार प्रतिकार्य गर्ने प्रणाली लागू गर्ने तयारी गरेको जनाएको छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनका अनुसार डेङ्गी, औलो, हैजा, झाडापखला, जापानीज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जाजस्ता रोगको प्रकोप नियन्त्रण गर्न तीनै तहका सरकारबीच समन्वयात्मक अभियान सञ्चालन गरिनेछ।
उनले रोग नियन्त्रणमा अघिल्ला वर्षको तुलनामा सुधार देखिएको उल्लेख गर्दै यस वर्ष मनसुनजन्य रोगबाट हुने क्षति थप घटाउने लक्ष्यका साथ विभिन्न रोकथामका उपायबारे छलफल भइरहेको बताए। साथै जनचेतना अभिवृद्धिका कार्यक्रमलाई पनि प्राथमिकता दिइएको उनले जानकारी दिए।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई रोगबाट बच्ने उपायबारे जानकारी दिने अभियान सुरु भइसकेको बताइन्। उनका अनुसार जनचेतना बढ्दै जाँदा मनसुनजन्य रोगको प्रकोप पनि क्रमशः घट्दो अवस्थामा रहेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख जनरल कन्सल्टेन्ट फिजिसियन डा. विमल शर्मा चालिसेले रोग फैलिसकेपछि उपचार गर्नुभन्दा संक्रमणको स्रोत र जोखिमका कारणमै नियन्त्रण गर्नु बढी प्रभावकारी र कम खर्चिलो हुने बताए। उनले विशेषगरी डेङ्गी, हैजा र झाडापखलाजस्ता रोगबाट बच्न वर्षायाममा व्यक्तिगत सरसफाइ, स्वच्छ खानेपानी र लामखुट्टेको नियन्त्रणमा ध्यान दिन आग्रह गरे।
यस्तै, स्वास्थ्य सेवा विभागको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले असारदेखि असोजसम्म पानी तथा कीटजन्य रोगको जोखिम उच्च रहने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरे। उनका अनुसार मनसुन सुरु भएसँगै डेङ्गी संक्रमणका घटना बढ्न थालेका छन्।


