

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा शुक्रबार बिहान वीर अस्पतालमा निधन भएको छ। चिकित्सकले बिहान ११:१९ बजे उनलाई मृत घोषणा गरेका हुन्।
उपचारमा संलग्न प्लास्टिक तथा बर्न सर्जन डा. पियुष दाहालका अनुसार गणेशको शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको थियो। आगोको धुवाँ र तातो हावा श्वासप्रश्वासमार्फत फोक्सोसम्म पुगेकाले उनलाई गम्भीर ‘इनहेलेसन इन्जुरी’ समेत भएको थियो।
डा. दाहालका अनुसार अस्पताल ल्याइएदेखि नै उनको अवस्था अत्यन्त गम्भीर थियो र सुरुदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। उपचारका क्रममा दुई पटक कार्डियोपल्मोनरी रिससिटेसन (सीपीआर) गरिए पनि दोस्रो प्रयासपछि पनि अवस्था सुधार हुन नसकेपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।


