

काठमाडौं- निजामती कर्मचारीलाई कार्यस्थलमै सहज, छिटो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा निजामती कर्मचारी अस्पतालको स्वास्थ्य सेवा इकाई सञ्चालनमा ल्याइएको छ।
गत असार १९ गतेदेखि मन्त्रालय भवनको तल्लो तलाबाट सेवा सुरु गरिएको उक्त इकाईमार्फत कर्मचारीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान भइरहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालसम्म धाउनुपर्ने बाध्यता हटाउँदै कार्यस्थलमै स्वास्थ्य परीक्षणको सुविधा उपलब्ध गराइएको हो। साथै, निजामती कर्मचारी अस्पतालमा बढ्दो सेवाग्राहीको चाप व्यवस्थापन गर्न पनि मन्त्रालय परिसरमै सेवा इकाई स्थापना गरिएको बताइएको छ।
सेवा इकाईबाट स्वास्थ्य परीक्षण, रक्तचाप (ब्लड प्रेसर) जाँच, रगतमा चिनी (सुगर) परीक्षण, रगत परीक्षणलगायत विभिन्न आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ।
उक्त इकाईमा एक जना चिकित्सक, एक जना नर्स, एक जना ल्याब टेक्निसियन, एक जना प्रशासनिक कर्मचारी र एक जना सहयोगी गरी पाँच जना स्वास्थ्यकर्मी कार्यरत छन्।
स्वास्थ्य सेवा इकाईमा कार्यरत डा. लक्ष्मी शर्माका अनुसार मन्त्रालयमै स्वास्थ्य सेवा उपलब्ध भएपछि सामान्य स्वास्थ्य परीक्षणका लागि अस्पतालमा लामो समय लाइन बस्नुपर्ने अवस्था हटेको छ। अहिले दैनिक ५० जनाभन्दा बढी कर्मचारीले सेवा लिइरहेका छन्।
सेवा सञ्चालनमा आएपछि कर्मचारीहरूले कार्यस्थलमै स्वास्थ्य सेवा पाउँदा समयको बचत हुनुका साथै अस्पताल धाउनुपर्ने झन्झट पनि हटेको बताएका छन्।


