

काठमाडौं- विश्वभर ३५ देखि ४९ वर्ष उमेर समूहका महिलामा बाँझोपन (इन्फर्टिलिटी) बढ्दै गएको एक नयाँ अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ। अध्ययनले उच्च शिक्षा, करियर, ढिलो मातृत्व, मोटोपना र तनावजस्ता कारणले आगामी वर्षहरूमा यो समस्या अझ बढ्ने चेतावनी दिएको छ।
चीनको चोङकिङ मेडिकल विश्वविद्यालयका अनुसन्धानकर्ताले सन् १९९० देखि २०२३ सम्म २०४ देशका स्वास्थ्य तथ्यांक विश्लेषण गरी गरेको अध्ययन द ल्यान्सेट अब्स्टेट्रिक्स, गायनोकोलोजी एन्ड वुमेन्स हेल्थ मा प्रकाशित भएको हो।
अध्ययनअनुसार सन् १९९० मा प्रति एक लाख ३५–४९ वर्ष उमेरका महिलामध्ये ६ हजार १ जनामा बाँझोपन देखिएको थियो। सन् २०२३ सम्म आइपुग्दा यो संख्या बढेर प्रति एक लाखमा ६ हजार ९०७ पुगेको छ।
अनुसन्धानले विशेषगरी ३५–३९ वर्ष उमेर समूहमा बाँझोपनको वृद्धि सबैभन्दा तीव्र हुने देखाएको छ। यद्यपि उमेर बढ्दै जाँदा डिम्बको संख्या र गुणस्तर स्वाभाविक रूपमा घट्ने भएकाले ४० वर्षपछि गर्भधारणको सम्भावना झन् कम हुने चिकित्सकहरू बताउँछन्।
अध्ययनका अनुसार नियमित असुरक्षित यौनसम्पर्क गरेको १२ महिनासम्म पनि गर्भधारण हुन नसकेको अवस्थालाई बाँझोपन मानिएको छ।
अनुसन्धानकर्ताहरूले पछिल्ला दशकमा महिलाहरूले उच्च शिक्षा, रोजगारी र करियरलाई प्राथमिकता दिँदै मातृत्वलाई पछि सार्ने प्रवृत्ति बढेको उल्लेख गरेका छन्। यस्तो अवस्थामा परिवार विस्तार गर्ने निर्णय गर्दा प्रजनन क्षमता पहिले नै घट्न थालेको हुन सक्ने उनीहरूको निष्कर्ष छ।
बेलायतको अफिस फर नेसनल स्टाटिस्टिक्स (ONS) का अनुसार सन् २०२१ मा इङ्ग्ल्यान्ड र वेल्समा पहिलो सन्तान जन्माउने आमाको औसत उमेर ३०.९ वर्ष पुगेको थियो, जुन अहिलेसम्मकै उच्च हो। सन् १९७३ मा यो औसत २६.४ वर्ष मात्र थियो।
अध्ययनले मोटोपना र दीर्घकालीन तनावले पनि प्रजनन क्षमतामा नकारात्मक असर पार्ने जनाएको छ। साथै, प्रजनन उपचार सेवाको पहुँच बढ्दै जाँदा पहिलेभन्दा धेरै महिलामा बाँझोपन पहिचान हुन थालेको पनि उल्लेख गरिएको छ।
अनुमानअनुसार सन् २०३६ सम्म ३५–४९ वर्ष उमेर समूहका बाँझोपनबाट प्रभावित महिलाको संख्या विश्वभर करिब ७ करोड ९६ लाख पुग्न सक्छ।
सन् २०२३ को तथ्यांकअनुसार पूर्वी एसियामा बाँझोपनको भार सबैभन्दा बढी रहेको छ भने अस्ट्रेलासियामा सबैभन्दा कम देखिएको छ। देशगत रूपमा मध्य अफ्रिकी गणतन्त्रमा सबैभन्दा बढी र नेपालमा सबैभन्दा कम बाँझोपनको भार रहेको अध्ययनले जनाएको छ।
अनुसन्धानकर्ताहरूले बाँझोपनलाई केवल स्वास्थ्य समस्या नभई मानसिक, सामाजिक र आर्थिक चुनौतीका रूपमा व्याख्या गर्दै समयमै पहिचान, उपचारमा सहज पहुँच र प्रभावकारी सार्वजनिक नीति आवश्यक रहेको बताएका छन्।



