

काठमाडौं- काठमाडौंको नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) को फार्मेसी अधिकृत दीपा ढुंगानासहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानीनोक्सानी पुर्याएको आरोपमा उनीहरूविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकामध्ये फार्मेसी अधिकृत दीपा ढुंगाना, फार्मेसी सहायक लबेन्द्र कुँवर, वरिष्ठ फार्मेसी सहायक दिनेश पन्त, फार्मेसी सहायक दीपक सापकोटा तथा स्टोर किपरहरू विनोद पोखरेल, शर्मीला श्रेष्ठ, केशवराज न्यौपाने र सन्दीप तिवारी रहेका छन्।
आयोगले उनीहरूबाट जनही २ करोड ९१ लाख ३४ हजार ५४७ रुपैयाँ बिगो असुल गर्न माग दाबी गरेको छ।
अख्तियारका अनुसार औषधि आपूर्तिकर्तासँग मिलेमतो गरी अस्पतालमा औषधि आपूर्ति नभएको अवस्थामा समेत बिल तथा बिजक सफ्टवेयरमा अभिलेख राखी ठूलो रकम अनियमितता गरिएको थियो। साथै अस्पतालको स्टोर र भर्याङमा करोडौँ मूल्यका म्याद गुज्रिएका औषधि फेला परेको, कम्प्युटर प्रणालीमा मौज्दात देखाइएका औषधि वास्तविक रूपमा स्टकमा नरहेको भन्ने उजुरीपछि अनुसन्धान अघि बढाइएको थियो।
अनुसन्धानका क्रममा सम्बन्धित कर्मचारीहरूले आफ्नो पदको दुरुपयोग गर्दै सार्वजनिक सम्पत्तिको हिनामिना तथा हानीनोक्सानी पुर्याएको पुष्टि भएको भन्दै आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ।



