

काठमाडौं – नेपालका पुराना औषधि उत्पादक कम्पनीमध्ये एक टाइम फर्मास्युटिकल्स लिमिटेड ले बुक बिल्डिङ विधिमार्फत प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) ल्याउने प्रक्रिया तीव्र बनाएको छ। कम्पनीले योग्य संस्थागत लगानीकर्तासँग मूल्य निर्धारणका लागि छलफल (रोड शो) सम्पन्न गर्दै आशयपत्र संकलनको प्रक्रिया अघि बढाएको हो।
कम्पनीले जारी पुँजी ५३ करोड रुपैयाँको २०.५ प्रतिशत बराबर १० करोड ८६ लाख ५० हजार रुपैयाँ मूल्यको १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गर्ने तयारी गरेको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी ६ लाख ५१ हजार ९०० कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ।
बुक बिल्डिङ निर्देशिका, २०७७ अनुसार कम्पनीले योग्य संस्थागत लगानीकर्ताबाट प्रस्तावित मूल्य (आशय मूल्य) संकलन गरी अन्तिम कट–अफ मूल्य निर्धारण गर्नेछ। कम्पनीले विभिन्न मूल्यांकन विधिका आधारमा प्रतिकित्ता ६६६.७८ रुपैयाँ मूल्य हुने अनुमान गरेको छ भने संस्थागत लगानीकर्ताका लागि ६०० रुपैयाँलाई आधार मूल्य प्रस्ताव गरेको छ। यद्यपि अन्तिम मूल्य भने संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्रका आधारमा तय हुनेछ।
कम्पनीले हालै काठमाडौंमा रोड शो आयोजना गरेको थियो, जहाँ करिब १४५ जना योग्य संस्थागत लगानीकर्ताका प्रतिनिधि सहभागी भएका थिए। कार्यक्रममा आशयपत्रका फारामसमेत वितरण गरिएको थियो। यसअघि असार १६ गते ३४ जना संस्थागत लगानीकर्तालाई नवलपुरको गैँडाकोटस्थित उद्योगमा लगेर उत्पादन प्रक्रिया, गुणस्तर नियन्त्रण, भण्डारण र वितरण प्रणालीबारे जानकारी गराइएको कम्पनी सचिव अधिवक्ता सुदीप घिमिरेले बताए।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका अनुसार संस्थागत लगानीकर्ताले असार २२ देखि २६ गतेसम्म आशयपत्र पेश गर्न सक्नेछन्। प्राप्त बोलपत्र असार २९ गते नेप्सेमा खोलिनेछ र त्यसकै आधारमा कट–अफ मूल्य निर्धारण गरिनेछ।
कम्पनीको वित्तीय विवरणले पछिल्ला वर्षमा नाफा वृद्धि भएको देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा १४ करोड १० लाख रुपैयाँ, २०८०/८१ मा १६ करोड १८ लाख रुपैयाँ र २०८१/८२ मा २३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २२ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जन गरिसकेको छ।
गत आर्थिक वर्ष कम्पनीको प्रतिशेयर आम्दानी (EPS) २०.९५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १७८.७१ रुपैयाँ थियो। चालु वर्षको तेस्रो त्रैमाससम्म नेटवर्थ १६७.५१ रुपैयाँ पुगेको छ। कम्पनीले आगामी वर्षहरूमा नाफा, नेटवर्थ र प्रतिशेयर आम्दानी थप वृद्धि गर्ने प्रक्षेपण सार्वजनिक गरेको छ।
आईपीओको रकम कहाँ खर्च हुन्छ ?
कम्पनीले आईपीओबाट प्राप्त रकम नेत्रसम्बन्धी औषधि उत्पादन विस्तार, नयाँ उत्पादन लाइन र प्याकेजिङ मेसिन स्थापना, प्रयोगशाला स्तरोन्नति, अनुसन्धान तथा विकास सहायक कम्पनी टाइम लाइफ स्टाइल प्रालिमा लगानी तथा बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने योजना बनाएको छ।
विसं. २०५२ मा स्थापना भई २०५४ देखि व्यावसायिक उत्पादन सुरु गरेको टाइम फर्मास्युटिकल्स हाल डब्लुएचओ–जीएमपी प्रमाणित कम्पनी हो। नवलपुरको गैँडाकोटस्थित उद्योगबाट कम्पनीले दुई सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ। कुल बिक्रीमध्ये करिब ८.१ प्रतिशत आम्दानी निर्यातबाट हुने गरेको छ भने कम्पनीले हाल चीनसहित अन्तर्राष्ट्रिय बजार विस्तारको प्रयास गरिरहेको जनाएको छ।
कम्पनीका अध्यक्ष डा. जी नारायण बहादुर क्षेत्रीका अनुसार एक करोड रुपैयाँ लगानी, २५ कर्मचारी र आठवटा उत्पादनबाट सुरु भएको कम्पनी अहिले ३५० भन्दा बढी कर्मचारी र २०० भन्दा बढी उत्पादन भएको संस्थामा रूपान्तरण भएको छ। नेपालमै पहिलोपटक औषधिको क्लिनिकल ट्रायल सुरु गरिएको दाबी पनि उनले गरेका छन्।
हाल कम्पनीका १२५ जना शेयरधनी छन्। आईपीओपछि चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्नेछ भने संस्थापकको स्वामित्व ७९.५० प्रतिशत कायम रहनेछ। कम्पनीका प्रमुख संस्थापक शेयरधनीमा अल्फा क्यापिटल, राजु कर्माचार्य, झम्कनाथ भट्ट, डा. जी नारायण बहादुर क्षेत्री, सुदर्शनलाल श्रेष्ठ, मनोज प्रधान र आशिष भण्डारीलगायत २३ जना रहेका छन्।
बुक बिल्डिङ विधिबाट आउने यो आईपीओलाई औषधि उत्पादन क्षेत्रमा कार्यरत कम्पनीहरूको पुँजी बजार प्रवेशको अर्को महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ। अन्तिम निष्कासन मूल्य भने योग्य संस्थागत लगानीकर्ताबाट प्राप्त बोलपत्रपछि मात्र तय हुनेछ।


