

काठमाडौं – कम्बोडियाले नेपालको आँखा उपचार सेवा र नेत्र स्वास्थ्य क्षेत्रमा हासिल गरेको उपलब्धिको खुलेर प्रशंसा गरेको छ। कम्बोडियामा नेपाली चिकित्सकहरूको टोलीले सञ्चालन गरेको निःशुल्क आँखा उपचार शिविरबाट एक हजारभन्दा बढी नागरिक लाभान्वित भएपछि त्यहाँको सरकारले नेपालको योगदानको सराहना गरेको हो।
थाइल्यान्ड तथा कम्बोडियाका लागि नेपाली राजदूत धनबहादुर ओलीसँग भएको भेटमा कम्बोडियाको विदेश तथा अन्तरराष्ट्रिय सहयोग मन्त्रालयकी स्थायी सचिव तथा प्रधानमन्त्रीकी निजी सल्लाहकार इट सोफियाले नेपालको आँखा उपचार सेवा र चिकित्सा शिक्षाको प्रशंसा गरिन्।
थाइल्यान्डस्थित नेपाली राजदूतावासका अनुसार असार २० र २१ गते कम्बोडियाको कम्पोङ चाम प्रान्तमा नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी आँखा संस्थान तथा अनुसन्धान केन्द्र (रण अम्बिका शाह आँखा अस्पताल) र नेपाली राजदूतावासको सहकार्यमा निःशुल्क आँखा उपचार शिविर सञ्चालन गरिएको थियो।
शिविरबाट एक हजार २ जना कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए। सेवा लिनेमध्ये ६४१ महिला र ३६१ पुरुष रहेका थिए। शिविरका क्रममा ३७३ जनालाई औषधि, ४०७ जनालाई चस्मा र १९२ जनालाई औषधिसहित चस्मा वितरण गरिएको नेपाल नेत्रज्योति सङ्घले जनाएको छ।
आँखा परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएपछि थप उपचारका लागि स्थानीय अस्पतालमा रिफर गरिएको थियो।
भेटका क्रममा दुवै पक्षबीच आँखा स्वास्थ्यसँगै जनस्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा व्यापारिक सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। राजदूत ओलीले कम्बोडियामा यस्ता स्वास्थ्य सेवा विस्तार गर्न नेपाल आवश्यक प्राविधिक सहयोग र तालिम दिन तयार रहेको जानकारी दिएका थिए।



