

ललितपुर – ललितपुर महानगरपालिकाले नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित आगामी साउन १ गतेदेखि ‘होम हेल्थ केयर’ सेवा सञ्चालनमा ल्याउने भएको छ।
महानगरले सञ्चालन गरेको ११३१ हटलाइन नम्बरमा सम्पर्क गरेपछि एम्बुलेन्स, डाक्टर, नर्स तथा आवश्यक औषधि र स्वास्थ्य सामग्रीसहितको टोली बिरामीको घरमै पुगेर उपचार सेवा प्रदान गर्ने व्यवस्था गरिएको महानगर प्रमुख चिरीबाबु महर्जनले जानकारी दिए।
उनका अनुसार स्वास्थ्यकर्मीको टोलीले घरमै बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र आवश्यक प्राथमिक उपचार गर्नेछ। घरमै उपचार सम्भव नभएमा मात्रै बिरामीलाई थप उपचारका लागि सम्बन्धित अस्पतालमा पठाइनेछ।
महर्जनका अनुसार आकस्मिक स्वास्थ्य समस्या भएका नागरिकले ११३१ नम्बरमा फोन गरेपछि आवश्यक स्वास्थ्य टोली तत्काल घरमै पुग्नेछ। यस सेवाले अस्पताल धाउनुपर्ने झन्झट कम गर्नुका साथै नागरिकलाई छिटो, सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास महानगरको छ।


