

काठमाडौं– चिकित्सा शिक्षाका अभियन्ता प्राडा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगमा लामो समयदेखि रिक्त रहेका पदाधिकारी तत्काल नियुक्त गर्न सरकारसँग माग गरेका छन्। योग्य व्यक्तिको नियुक्ति नभए असार २५ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने चेतावनी पनि उनले दिएका छन्।
सोमबार जारी विज्ञप्तिमा डा. केसीले आयोगको पदपूर्तिका लागि अन्तर्वार्ता सम्पन्न भएको लामो समय बितिसक्दा पनि नियुक्ति प्रक्रिया टुंगोमा नपुग्नु र अन्य निकायमा नियुक्ति भइसके पनि आयोगलाई नेतृत्वविहीन राख्नुले सरकारको नियतमाथि शंका उत्पन्न गरेको बताएका छन्।
उनले अयोग्य वा स्वार्थ बाझिने व्यक्तिलाई नियुक्त गरी चिकित्सा शिक्षा ऐन र आयोगको उद्देश्य कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाएका छन्। निजी क्षेत्र वा राजनीतिक प्रभावबाट मुक्त, योग्य र दक्ष व्यक्तिलाई मात्रै आयोगमा नियुक्त गर्न उनले सरकारसँग आग्रह गरेका छन्।
डा. केसीले वर्तमान सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रलाई झन् महँगो र गुणस्तरहीन बनाउने दिशामा अघि बढिरहेको आरोप पनि लगाएका छन्। अमेरिका जस्ता मुलुकमा समेत स्वास्थ्य र शिक्षालाई गैरनाफामूलक क्षेत्रका रूपमा हेरिने उदाहरण दिँदै उनले नियमनकारी निकायलाई कमजोर बनाएर माफियाकरणलाई प्रश्रय दिन खोजिए कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन्।
उनले असार २४ गतेभित्र आयोगका पदाधिकारी नियुक्त नभए विगतका मागहरू समेटेर असार २५ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।


