काठमाडौं– देशभरका सरकारी तथा निजी अस्पतालमा गरिएको श्रम निरीक्षणले श्रम ऐन कार्यान्वयनमा गम्भीर कमजोरी रहेको देखाएको छ। एकै दिन असार १८ गते गरिएको निरीक्षणमा न्यूनतम पारिश्रमिक, श्रम सम्झौता र सामाजिक सुरक्षा कोष कार्यान्वयनमा व्यापक लापरबाही भेटिएको हो।
श्रम तथा रोजगार कार्यालयहरूले झापा, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायतका क्षेत्रमा रहेका ९५ अस्पताल तथा स्वास्थ्य संस्थाको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा श्रमिकका आधारभूत अधिकारसमेत उल्लंघन भएको पाइएको छ।
तथ्यांकअनुसार ३८ अस्पतालले सरकारले तोकेको न्यूनतम पारिश्रमिक लागू गरेका छैनन् भने ५ अस्पतालले मात्र आंशिक रूपमा कार्यान्वयन गरेका छन्। यस्तै ६० अस्पताल सामाजिक सुरक्षा कोषमा आबद्ध नभएको र ४ संस्थाले आंशिक रूपमा मात्रै आबद्धता कायम गरेको पाइएको छ। साथै ४१ अस्पतालले कर्मचारीसँग श्रम सम्झौता नगरेको भेटिएको छ।
कतिपय स्वास्थ्य संस्थामा कर्मचारीलाई नियुक्तिपत्र नै नदिई मौखिक रूपमा काममा लगाइएको, ओभरटाइम काम गराएर अतिरिक्त पारिश्रमिक नदिएको तथा बिदा र चाडपर्व खर्चसम्बन्धी कानुनी व्यवस्था पनि पालना नगरेको निरीक्षणमा देखिएको छ।

श्रम निरीक्षण टोलीले त्रुटि भेटिएका अस्पतालहरूलाई तत्काल न्यूनतम तलब लागू गर्न, सबै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन, श्रम सम्झौता अनिवार्य गर्न र श्रम अडिट गरी प्रतिवेदन बुझाउन निर्देशन दिएको छ। निर्देशन पालना नगर्ने केही प्रतिष्ठानलाई विभागमा कारबाहीका लागि सिफारिससमेत गरिएको छ।
मन्त्रालयका अनुसार वर्तमान सरकारले पहिलो १०० दिनमै १,३२१ वटा श्रम निरीक्षण सम्पन्न गरेको छ, जबकि अघिल्लो नौ महिनामा १,९९१ वटा मात्रै निरीक्षण भएका थिए। यस अवधिमा श्रम कानुन पालना गराउने क्रममा ४ करोड ४० लाख ९६ हजार रुपैयाँ जरिवाना तथा क्षतिपूर्ति पनि भराइएको जनाएको छ।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले सुरक्षित र मर्यादित श्रम वातावरण तथा बालश्रम अन्त्य सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै श्रमिकको सुरक्षा, बालबालिकाको शिक्षा र युवालाई स्वदेशमै रोजगारी सुनिश्चित गर्न सके मात्रै देश बलियो बन्ने बताएका छन्।








