जनकपुर– मधेश प्रदेशकी स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध सामाजिक सञ्जालमा आलोचनात्मक स्टाटस लेखेका स्वास्थ्यकर्मी नबेश अधिकारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको टोलीले अधिकारीलाई सोमबार साँझ करिब ७:३० बजे जनकपुरबाट पक्राउ गरेको जनाएको छ।

अधिकारीको पक्राउप्रति केही स्वास्थ्यकर्मीले असन्तुष्टि जनाएका छन्। उनीहरूले मन्त्रीको आलोचना गरेकै आधारमा पक्राउ गरिएको दाबी गर्दै कानुनी प्रक्रिया पालना नभएको आरोप लगाएका छन्।

स्वास्थ्यकर्मीहरूका अनुसार अधिकारी हेल्थ असिस्टेन्ट हुन्। उनी निजी स्वास्थ्य संस्थामा कार्यरत रहेकामा हाल लोकसेवा आयोगको तयारी गरिरहेका थिए। साथै स्वास्थ्यकर्मीहरूको हकहितका विषयमा सामाजिक सञ्जालमार्फत निरन्तर आवाज उठाउँदै आएका थिए।
गत शनिबार अधिकारीले फेसबुकमा स्वास्थ्यमन्त्री निशा मेहताको तस्बिरमा रातो क्रस चिन्ह लगाउँदै ‘माफिया मन्त्री’ लेखेका थिए। उनले सरकारी अस्पतालमा विपन्न नागरिकका लागि छुट्याइएको १० प्रतिशत बेडको व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको आरोप लगाउँदै मन्त्रीको राजीनामासमेत माग गरेका थिए।
स्वास्थ्यकर्मीहरूको अनुमानअनुसार उक्त फेसबुक पोस्टकै आधारमा साइबर ब्युरोमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हुन सक्ने बताइएको छ। यद्यपि प्रहरीले पक्राउको आधिकारिक कारण सार्वजनिक गरेको छैन।







