

काठमाडौं । नेपालमा फोक्सोको क्यान्सरका बिरामीको संख्या वर्षेनी बढ्दै गएको चिकित्सकहरू बताउँछन्। विशेषगरी धुम्रपान, वायु प्रदूषण, घरभित्रको धुवाँ, औद्योगिक रसायनको सम्पर्क तथा अस्वस्थ जीवनशैलीका कारण फोक्सोको क्यान्सरको जोखिम बढिरहेको छ। तर यो रोगको सबैभन्दा ठूलो चुनौती भनेको प्रारम्भिक चरणमा स्पष्ट लक्षण नदेखिनु हो।
धेरैजसो बिरामी अस्पताल पुग्दा क्यान्सर तेस्रो वा चौथो चरणमा पुगिसकेको हुन्छ, जसले उपचारलाई जटिल र खर्चिलो बनाउँछ। तर विशेषज्ञहरूका अनुसार लक्षण देखिनुअघि नै गरिने स्क्रिनिङ परीक्षणले फोक्सोको क्यान्सरलाई सुरुआती अवस्थामै पत्ता लगाउन सकिन्छ र त्यतिबेला उपचारको सफलता दर निकै उच्च हुन्छ।
भक्तपुर क्यान्सर अस्पताल तथा बीएण्डबी अस्पतालमा कार्यरत कन्सल्टेन्ट मेडिकल अन्कोलोजिस्ट डा. रोशन प्रजापतिका अनुसार फोक्सोको क्यान्सरको स्क्रिनिङ भनेको कुनै लक्षण नदेखिएका व्यक्तिमा क्यान्सर छ वा छैन भनेर परीक्षण गर्ने प्रक्रिया हो।
“क्यान्सर स्टेज–१ वा स्टेज–२ भन्दा अगाडि नै पत्ता लाग्यो भने शल्यक्रिया, रेडियोथेरापी वा अन्य उपचारमार्फत पूर्णरुपमा निको पार्न सकिन्छ,” डा. प्रजापति भन्छन्, “समस्या के छ भने अधिकांश बिरामीमा रोग ढिलो पत्ता लाग्छ।”
लो–डोज सिटीस्क्यान किन महत्वपूर्ण ?
फोक्सोको क्यान्सरको प्रारम्भिक पहिचानका लागि विश्वभर ‘लो–डोज कम्प्युटेड टोमोग्राफी (एलडीसीटी)’ अर्थात् लो–डोज सिटीस्क्यानलाई प्रभावकारी विधिका रूपमा मान्यता दिइएको छ। सामान्य सिटीस्क्यानको तुलनामा कम विकिरण प्रयोग हुने भएकाले यो स्क्रिनिङका लागि उपयुक्त मानिन्छ।
डा. प्रजापतिका अनुसार ५० वर्षदेखि ८० वर्ष उमेर समूहका तथा लामो समयदेखि धुम्रपान गरिरहेका व्यक्तिले वर्षमा एकपटक लो–डोज सिटीस्क्यान गराउनुपर्छ। विशेषगरी १५ वर्षभन्दा बढी समय धुम्रपान गरेका व्यक्तिहरू उच्च जोखिम समूहमा पर्ने भएकाले उनीहरूलाई नियमित परीक्षण आवश्यक हुन्छ।
उनका अनुसार परीक्षणले सानो आकारको गाँठो वा असामान्य परिवर्तनलाई समेत पहिचान गर्न सक्छ, जुन एक्स–रेबाट प्रायः छुट्न सक्छ।

धुम्रपान मात्रै होइन, प्रदूषण पनि जोखिम
विशेषज्ञहरूका अनुसार फोक्सोको क्यान्सर धुम्रपान गर्नेहरूमा मात्र सीमित छैन। काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा बढ्दो वायु प्रदूषणले पनि जोखिम बढाइरहेको छ। दाउरा, कोइला वा बायोमास इन्धन प्रयोग गरेर खाना पकाउने परिवारका सदस्यहरू, उद्योग तथा निर्माण क्षेत्रमा काम गर्ने मजदुरहरू पनि जोखिममा हुन सक्छन्।
यद्यपि धुम्रपान भने अझै पनि फोक्सोको क्यान्सरको सबैभन्दा ठूलो कारणका रूपमा रहेको चिकित्सकहरू बताउँछन्। धुम्रपान नगर्ने व्यक्तिको तुलनामा धुम्रपान गर्ने व्यक्तिमा फोक्सोको क्यान्सर हुने जोखिम धेरै गुणा बढी हुन्छ।
लक्षण देखिए उमेर नहेरी परीक्षण
फोक्सोको क्यान्सरका प्रारम्भिक लक्षणहरूमा लामो समयसम्म खोकी लागिरहनु, खोकीसँग रगत आउनु, छाती दुख्नु, सास फेर्न गाह्रो हुनु, आवाज बस्नु, तौल घट्दै जानु तथा अत्यधिक थकान महसुस हुनु पर्दछन्।
डा. प्रजापतिका अनुसार यस्ता लक्षण देखिएमा ५० वर्षभन्दा कम उमेरका व्यक्तिले पनि चिकित्सकको सल्लाहअनुसार परीक्षण गराउन सक्छन्। “स्क्रिनिङका लागि निश्चित उमेर समूह तोकिएको भए पनि लक्षण देखिएपछि उमेरभन्दा अवस्था महत्वपूर्ण हुन्छ,” उनी भन्छन्।
नेपालमा स्क्रिनिङ अझै पहुँचबाहिर
नेपालमा फोक्सोको क्यान्सर स्क्रिनिङसम्बन्धी स्पष्ट राष्ट्रिय गाइडलाइन अझै निर्माण भइसकेको छैन। विकसित देशहरूमा उच्च जोखिम समूहका व्यक्तिका लागि नियमित स्क्रिनिङ कार्यक्रम सञ्चालन भइरहेका छन्। तर नेपालमा यस्तो सेवा सीमित अस्पताल र स्वास्थ्य संस्थामा मात्र उपलब्ध छ।
ग्रामीण क्षेत्रका नागरिकले लो–डोज सिटीस्क्यानका लागि जिल्ला वा प्रदेश केन्द्रसम्म पुग्नुपर्ने अवस्था छ। परीक्षणको खर्च, यात्रा खर्च र जनचेतनाको अभावले पनि धेरै व्यक्ति परीक्षणबाट टाढा छन्।

स्वास्थ्य विज्ञहरूका अनुसार आगामी दिनमा फोक्सोको क्यान्सर नियन्त्रण गर्न उपचारभन्दा बढी प्रारम्भिक पहिचान र रोकथाममा जोड दिन आवश्यक छ। धुम्रपान नियन्त्रण, वायु प्रदूषण न्यूनीकरण र उच्च जोखिम समूहमा नियमित स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न सके फोक्सोको क्यान्सरबाट हुने मृत्यु दर उल्लेखनीय रूपमा घटाउन सकिन्छ।
डा. प्रजापति भन्छन्, “फोक्सोको क्यान्सर भनेको अन्तिम अवस्था पुगेपछि मात्र थाहा हुने रोग होइन। सही समयमा परीक्षण गरियो भने यो निको हुन सक्ने क्यान्सरमध्ये एक हो। त्यसैले जोखिममा रहेका व्यक्तिले लक्षण कुरेर बस्नुभन्दा नियमित परीक्षण गराउनु बुद्धिमानी हुन्छ।”


