

धनगढी । जुम्ल्याहा शिशुलाई जन्म दिएपछि अत्यधिक रक्तश्राव हुँदा सेती प्रादेशिक अस्पतालमा कार्यरत स्टाफ नर्स सुशिला विकको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ घर भएकी विकको आइतबार मृत्यु भएको हो।
प्रसूतिको लागि सेती प्रादेशिक अस्पतालमा भर्ना भएकी विकले जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्। उनका कान्छा ससुरा दीपक वडका अनुसार जन्मिएका दुई शिशुमध्ये एक मृत अवस्थामा जन्मिएको थियो भने अर्को जीवित थियो।
शिशु जन्मिएपछि विकलाई अत्यधिक रक्तश्राव भएको र सोही कारण उनको मृत्यु भएको दीपक वडले जानकारी दिए।
विक २०७८ सालदेखि सेवा करार कार्यक्रमअन्तर्गत नर्सिङ कर्मचारीका रूपमा सेती प्रादेशिक अस्पतालमा कार्यरत थिइन्।
विकको निधनप्रति सेती प्रादेशिक अस्पतालले पनि शोक वक्तव्य जारी गरेको छ। अस्पतालले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गरेको छ।



