

जय पाठक (जेपी), चितवन । मौलाकालिका अस्पताल प्रा.लि. भरतपुर–११, बाइपास रोडको प्रबन्ध निर्देशकमा डा. रमेश घिमिरे नियुक्त भएका छन् । अस्पतालको नयाँ सञ्चालक समितिले डा. घिमिरेलाई प्रबन्ध निर्देशकको जिम्मेवारी दिएको हो ।
रेडियोलोजिस्टका रूपमा लामो समयदेखि मौलाकालिका अस्पतालमा कार्यरत डा. घिमिरेले अस्पतालको विकास र विस्तारमा समेत सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् । करिब डेढ वर्षदेखि उनी अस्पतालमा प्रबन्ध निर्देशकका रूपमा कार्यरत छन् । त्यसअघि अस्पतालका प्रबन्ध निर्देशकमा डा. केशबराज भूर्तेल रहेका थिए । उनी सो पदमा नरहेपछि अस्पताले डा. घिमिरेलाई जिम्मेवारी दिएको थियो । नयाँ कार्यसमितिको गठनसँगै उनलाई पुनः प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको हो ।
जिम्मेवारी पाएपछि डा. घिमिरेले अस्पताललाई थप व्यवस्थित, आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाका रूपमा अघि बढाउन आफ्नो तर्फबाट पूर्ण प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“नयाँ जिम्मेवारीको सुरुवात भएको छ । यस जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै संस्थालाई अझ अगाडि बढाउन म आफ्नो तर्फबाट भरपूर प्रयास गर्नेछु । यहाँहरू सबैको साथ, सहयोग, सल्लाह र सुझावले मात्र हामी अझ अगाडि बढ्दै सफलताको यात्रालाई सार्थक बनाउन सक्छौँ,” उनले भने, “आगामी दिनमा पनि सबैको निरन्तर साथ, सहयोग र मार्गदर्शनको अपेक्षा गर्दछु ।”
उनले आफूलाई प्रबन्ध निर्देशकको जिम्मेवारी प्रदान गरेकोमा अस्पतालका सम्पूर्ण शेयरधनी तथा सञ्चालक समितिप्रति आभार व्यक्त गर्दै आगामी दिनमा आवश्यक सहयोगको अपेक्षा पनि गरेका छन् ।
गुल्मीबाट सुरु भएको चिकित्सा यात्रा
गुल्मीको धुर्कोट गाउँपालिकामा जन्मिएका डा. घिमिरेले प्रारम्भिक शिक्षा श्री भवानी माध्यमिक विद्यालय, धुर्कोटबाट पूरा गरी एसएलसी उत्तीर्ण गरेका हुन् । त्यसपछि उनले काठमाडौंस्थित अमृत साइन्स कलेजबाट आईएस्सी अध्ययन गरे ।
उनको चिकित्सा शिक्षा महाराजगञ्ज मेडिकल कलेज (टिचिङ अस्पताल) काठमाडौंबाट सुरु भएको हो । उनले त्यहाँबाट एमबीबीएस पूरा गरेका हुन् । अध्ययनका क्रममा आफू ब्याचको टपरसमेत रहेको उनले बताएका छन् ।
एमबीबीएसपछि उनले रेडियोलोजी विषयमा उच्च शिक्षा हासिल गर्न भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) रोजे । त्यहाँबाट रेडियोलोजीमा मास्टर डिग्री पूरा गरेपछि उनी कन्सल्टेन्ट रेडियोलोजिस्टका रूपमा मौलाकालिका अस्पतालमा आबद्ध भएका हुन् ।
डा. घिमिरेका विगत करिब १० वर्षदेखि मौलाकालिका अस्पतालमा रेडियोलोजिस्टका रूपमा निरन्तर कार्यरत छन् । अस्पतालको पुरानो भवनबाट नयाँ भवनमा सेवा सञ्चालन गर्ने प्रक्रियामा समेत उनले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
आधुनिक रेडियोलोजी सेवामा जोड
प्रबन्ध निर्देशकको जिम्मेवारीसँगै अस्पतालमा आधुनिक प्रविधि र विशेषज्ञ स्वास्थ्य सेवाको विस्तारलाई प्राथमिकतामा राख्ने डा. घिमिरेको भनाइ छ ।
उनका अनुसार मौलाकालिका अस्पतालमा पछिल्लो समय फाइभ–डी अल्ट्रासाउन्ड, अत्याधुनिक सिटी स्क्यान, डिजिटल एक्स–रे लगायतका आधुनिक रेडियोलोजी प्रविधि उपलब्ध छन् । साथै, विभिन्न प्रकारका इन्टरभेन्सनल रेडियोलोजी सेवासमेत विस्तार गर्दै लगिएको उनले जानकारी दिए ।
“नयाँ–नयाँ प्रविधिलाई रेडियोलोजी सेवामा जोड्दै आएका छौँ । अहिले फाइभ–डी अल्ट्रासाउन्ड, अत्याधुनिक सिटी स्क्यान, डिजिटल एक्स–रेलगायतका सेवा उपलब्ध छन् । रेडियोलोजिकल इन्टरभेन्सनका विभिन्न सेवासमेत यहाँबाट प्रदान गर्न सकिन्छ,” डा. घिमिरेले बताए ।
अस्पतालको प्रशासनिक नेतृत्वसँगै आफ्नो विशेषज्ञता रहेको रेडियोलोजी सेवाको विकासलाई समेत सँगसँगै अघि बढाउने उनको योजना छ । आधुनिक प्रविधि, दक्ष जनशक्ति र गुणस्तरीय स्वास्थ्य सेवामार्फत अस्पताललाई थप व्यवस्थित र सेवामैत्री बनाउने उनको प्रतिबद्धता छ ।
“मलाई विश्वास गरेर यो जिम्मेवारी प्रदान गर्नुहुने सम्पूर्ण शेयरधनी महानुभाव तथा सञ्चालक समितिप्रति धन्यवाद व्यक्त गर्दछु । आगामी दिनमा अस्पतालको विकासका लागि सबैको साथ, सहयोग, सल्लाह र सुझाव आवश्यक हुनेछ,”उनले भने ।
यससँगै डा. घिमिरेको नेतृत्वमा मौलाकालिका अस्पतालले स्वास्थ्य सेवाको गुणस्तर, आधुनिक प्रविधिको विस्तार र संस्थागत विकासलाई थप प्राथमिकताका साथ अघि बढाउने अपेक्षा गरिएको छ ।
डा. घिमिरे रोटरी क्लब अफ रत्ननगरका सदस्य, लायन्स क्लब अफ चितवन राइजका वर्तमान अध्यक्ष, गीतानगर जेसीजका कार्यकारी उपाध्यक्ष तथा नेपाल युवा उद्यमी मञ्चका सदस्यका रूपमा सामाजिक सेवा, नेतृत्व तथा उद्यमशीलताको क्षेत्रमा समेत सक्रिय छन् ।



