

धनगढी – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया शिक्षामन्त्री सस्मित पोखरेलले समय नदिँदा रोकिएको छ। नियुक्तिका लागि आवश्यक सिनेट बैठक बस्न नसक्दा विश्वविद्यालयले अझै नयाँ नेतृत्व पाउन सकेको छैन।
गत वैशाखमा सरकारले अध्यादेशमार्फत देशभरका विश्वविद्यालयका पदाधिकारीलाई पदमुक्त गरेको थियो। त्यसपछि विश्वविद्यालय ऐनअनुसार नयाँ पदाधिकारी सिफारिस गर्न सरकारले समिति गठन गरेको थियो। समितिमा प्रा.डा. जयराज अवस्थी, प्रा.डा. लोचना श्रेष्ठ र प्रा.डा. दिनेशकुमार लम्साल सदस्य थिए। पछि प्रा.डा. लोचना श्रेष्ठले राजीनामा दिएपछि उनको स्थानमा प्रा.डा. शैलु प्रधानलाई मनोनित गरिएको थियो।
स्रोतका अनुसार सिफारिस समितिले उपकुलपति र रजिष्ट्रार पदका लागि आवश्यक नाम अघिल्लो साता नै सरकारलाई सिफारिस गरिसकेको छ। तर नियुक्तिका लागि अनिवार्य सिनेट बैठक बोलाउन शिक्षामन्त्री पोखरेलले समय नदिएकाले प्रक्रिया अघि बढ्न सकेको छैन।
यसअघि सरकारले केही दिनअघि अन्य विश्वविद्यालयका पदाधिकारी नियुक्त गरिसकेको भए पनि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रार भने अझै नियुक्त भएका छैनन्।
नेतृत्व अभावका कारण विश्वविद्यालयको आगामी शैक्षिक योजना प्रभावित भएको सरोकारवालाहरूको भनाइ छ। विश्वविद्यालयले आगामी आर्थिक वर्षदेखि चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएसलगायत) अध्ययन सुरु गर्ने तयारी गरिरहेको भए पनि पदाधिकारी नियुक्ति नहुँदा योजना कार्यान्वयन अन्योलमा परेको बताइएको छ।


