

काठमाडौं – नेपाल सरकारले योग, आयुर्वेद तथा प्राकृतिक चिकित्सालाई राष्ट्रिय स्वास्थ्य नीतिको प्राथमिकतामा राख्नुपर्ने माग उठेको छ। साथै, प्राकृतिक चिकित्सक डा. चेतना पौडेललाई अनावश्यक रूपमा विवादमा तानेर प्राकृतिक चिकित्सा क्षेत्रमाथि नै प्रहार गरिएको आरोप पनि सरोकारवालाहरूले लगाएका छन्।
शनिबार राजधानीको संवाद डबलीमा ९औँ राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको अवसरमा योग तथा प्राकृतिक चिकित्सा संघले आयोजना गरेको कार्यक्रममा वक्ताहरूले प्राकृतिक चिकित्सा क्षेत्रलाई राज्यले अझै उचित महत्व नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
कार्यक्रममा संघका अध्यक्ष डा. जनकबहादुर बस्नेतले विश्वभर योग तथा प्राकृतिक चिकित्साको प्रभाव र स्वीकार्यता बढ्दै गए पनि नेपालमा भने यो चिकित्सा प्रणाली राज्यको प्राथमिकतामा पर्न नसकेको बताए। प्राकृतिक चिकित्साप्रति राज्यको स्पष्ट नीति र दृष्टिकोण नहुँदा यसको विकास अवरुद्ध भएको उनको भनाइ थियो।
डा. बस्नेतले पछिल्लो समय बढ्दो रोगको भारलाई न्यूनीकरण गर्न प्राकृतिक चिकित्सा प्रभावकारी विकल्प हुन सक्ने उल्लेख गर्दै यस क्षेत्रलाई सरकारले नीतिगत रूपमा अघि बढाउनुपर्नेमा जोड दिए।
उनले डा. चेतना पौडेलको गिरफ्तारी र उनीमाथि भइरहेको अनुसन्धानलाई प्राकृतिक चिकित्सा क्षेत्रमाथिकै प्रहारका रूपमा व्याख्या गरे। उनका अनुसार पौडेलले भारतको राजीव गान्धी युनिभर्सिटी अफ हेल्थ साइन्सेस, बैंग्लोरबाट साढे पाँच वर्षको मेडिकल अध्ययन पूरा गरी करिब २१ वर्षदेखि चिकित्सकीय अभ्यास गर्दै आएकी छन्। दुई दशकभन्दा बढी समयदेखि उपचार सेवामा संलग्न व्यक्तिलाई कसरी ‘नक्कली डाक्टर’ भन्न सकिन्छ भन्ने प्रश्न उनले उठाए।
कार्यक्रममा बोल्दै डा. चेतना पौडेलले आफूले योग तथा प्राकृतिक चिकित्सा विषयमा अध्ययन गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा विधिवत् दर्ता भएर दुई दशकभन्दा बढी समयदेखि यही क्षेत्रमा सेवा दिँदै आएको बताइन्। त्यसका बाबजुद आफूलाई पूर्वाग्रहका आधारमा विवादमा तानिएको भन्दै उनले दुःख व्यक्त गरिन्।
प्रा.डा. सञ्जय पोखरेलले विश्वका धेरै मुलुकले योग तथा प्राकृतिक चिकित्सालाई स्वास्थ्य प्रणालीको महत्वपूर्ण अंगका रूपमा स्वीकार गरिसकेको उल्लेख गर्दै नेपाल सरकारले पनि यसलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताए। उनले डा. चेतना पौडेलमाथिको कारबाहीलाई प्राकृतिक चिकित्सा क्षेत्रमाथिको प्रहारका रूपमा टिप्पणी गरे।
त्यस्तै, डा. हेमराज कोइरालाले प्राकृतिक चिकित्साको विकासक्रमबारे चर्चा गर्दै यसको ऐतिहासिक महत्वका बाबजुद नेपालमै यो चिकित्सा प्रणाली उपेक्षित बनेको बताए।
डा. रविनलाल श्रेष्ठले ब्याचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेस (BNYS) अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त र प्रभावकारी चिकित्सा शिक्षा भएको उल्लेख गर्दै नेपालमा यसको कानुनी मान्यता र अभ्याससम्बन्धी तथ्यहरू प्रस्तुत गरे।
डा. सन्जु खईजुले योग तथा प्राकृतिक चिकित्साको प्रभावकारिता र महत्वलाई दृष्टिगत गर्दै राज्यले यस क्षेत्रको विकास, प्रवर्द्धन र विस्तारका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन्।
कार्यक्रमको अन्त्यमा योग तथा प्राकृतिक चिकित्सा विषयमा अध्ययन पूरा गरेका नयाँ चिकित्सकहरूलाई सम्मानसमेत गरिएको थियो।


