

काठमाडौं – वर्तमान सरकारले कार्यभार सम्हालेको १०० दिन पूरा भएको अवसरमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएको दाबी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार ‘निःशुल्क स्वास्थ्य पोर्टल’ मार्फत हालसम्म दुई हजार २६२ जना विपन्न तथा असहाय नागरिकले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
मन्त्रालयका अनुसार सर्वसाधारणलाई सहज र पारदर्शी रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको freehealth.mohp.gov.np पोर्टलमा हाल देशभरका १९६ वटा अस्पताल आबद्ध भएका छन्। ती अस्पतालहरूमा तीन हजार ४५ वटा निःशुल्क शय्या छुट्याइएको छ। नागरिकहरूले घरमै बसेर अनलाइनमार्फत कुन अस्पतालमा निःशुल्क शय्या उपलब्ध छ भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
सरकारले स्वास्थ्य सेवाको अनुगमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउन पाँच प्रमुख अस्पतालको सेवा प्रवाहलाई एकीकृत डिजिटल प्रणालीमा आबद्ध गरेको छ। वीर अस्पताल, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, भरतपुर अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा प्रवाहलाई अनलाइनमार्फत प्रत्यक्ष सुपरिवेक्षण गर्न मिल्ने गरी ‘एकीकृत ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ।
त्यसैगरी, खोप, सुरक्षित मातृत्व, परिवार योजना तथा पोषणलगायत स्थानीय तहसम्म सञ्चालन हुने जनस्वास्थ्य कार्यक्रमको प्रगति अनुगमन गर्न छुट्टै एकीकृत स्वास्थ्य ड्यासबोर्ड पनि सञ्चालनमा आएको छ। यसले देशभर सञ्चालन भइरहेका जनस्वास्थ्य कार्यक्रमको अवस्थाबारे वास्तविक समयमै जानकारी प्राप्त गर्न सहयोग पुग्ने मन्त्रालयको विश्वास छ।
सरकारी अस्पतालहरूमा बिरामीको चाप व्यवस्थापन र उपचार प्रक्रियालाई थप व्यवस्थित बनाउन ‘बिरामी अभिलेख प्रणाली’ (Patient Record System) विकास गरिएको छ। उक्त प्रणालीको पाइलट परीक्षण हाल पाँचवटा संघीय अस्पतालमा सुरु गरिएको मन्त्रालयले जनाएको छ।
यस्तै, जी.पी. कोइराला श्वासप्रश्वास उपचार केन्द्र, पाटन अस्पताल, टेकु अस्पताललगायत स्वास्थ्य संस्थामा औषधिको मौज्दात र मूल्यसम्बन्धी जानकारी डिजिटल प्रणालीमार्फत सार्वजनिक गर्न थालिएको छ। राष्ट्रिय ट्रमा सेन्टर र मनमोहन कार्डियाक सेन्टरमा भने क्यूआर कोड स्क्यान गरेर फार्मेसीसम्बन्धी विवरण हेर्न सकिने व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।



