

काठमाडौं- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको पेसागत अनुशासन, सेवाग्राहीप्रतिको व्यवहार, उत्तरदायित्व तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने उद्देश्यले ‘आचारसंहिता, २०८३’ लागू गरेको छ।
मन्त्रालयका अनुसार नयाँ आचारसंहिताले स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी, उत्तरदायी र सेवामुखी बनाउने लक्ष्य राखेको छ। यसमा स्वास्थ्यकर्मी तथा कर्मचारीले आफ्नो जिम्मेवारी निष्पक्ष, इमानदार र उत्तरदायी ढंगले निर्वाह गर्नुपर्ने तथा कुनै पनि राजनीतिक प्रभाव वा दबाबबाट मुक्त रही राजनीतिक तटस्थता कायम गर्नुपर्ने व्यवस्था गरिएको छ।
आचारसंहिताले सेवाग्राहीको अधिकारको सम्मान गर्न, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अन्य संवेदनशील समूहप्रति सम्मानजनक र सहयोगी व्यवहार गर्न विशेष जोड दिएको छ। साथै बिरामी, कुरुवा तथा सेवाग्राहीसँग शिष्ट र सहानुभूतिपूर्ण व्यवहार गर्नुपर्ने तथा जात, धर्म, लिङ्ग, भाषा, क्षेत्र वा आर्थिक अवस्थाका आधारमा कुनै पनि प्रकारको विभेद गर्न नपाइने उल्लेख गरिएको छ।
आकस्मिक बिरामी, गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि आचारसंहितामा समावेश गरिएको छ। बिरामीको व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी विवरण गोप्य राख्नुपर्ने, उपचार प्रक्रिया, उपलब्ध सेवा र शुल्कबारे स्पष्ट जानकारी दिनुपर्ने तथा अनावश्यक रूपमा सेवाग्राहीलाई प्रतीक्षा गराउन वा विभिन्न कक्षमा भौतारिन बाध्य पार्न नहुने मन्त्रालयले जनाएको छ।
त्यसैगरी, स्वास्थ्यकर्मीले आफ्नो पेसागत दक्षता निरन्तर अभिवृद्धि गर्दै गुणस्तरीय सेवा दिनुपर्ने, सेवाका क्रममा घुस, कमिसन, उपहार वा अन्य अनुचित लाभ लिन, दिन वा माग गर्न नपाइने स्पष्ट व्यवस्था गरिएको छ। अस्पतालका औषधि, उपकरण तथा अन्य स्रोत–साधनको संरक्षण गर्नुपर्ने, संक्रमण नियन्त्रण, सरसफाइ तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापनसम्बन्धी मापदण्डको पूर्ण पालना गर्नुपर्ने पनि उल्लेख छ।
आचारसंहिताले सहकर्मी तथा सेवाग्राहीप्रति सम्मानजनक व्यवहार गर्न, कुनै पनि प्रकारको शारीरिक, मानसिक वा यौनजन्य दुर्व्यवहार तथा उत्पीडन नगर्न र विपद्, महामारी तथा आकस्मिक अवस्थामा उच्च जिम्मेवारीका साथ स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।
सामाजिक सञ्जाल तथा डिजिटल माध्यमको प्रयोगसम्बन्धी व्यवस्थाअनुसार कर्मचारीले आफ्नो पदका आधारमा प्राप्त गोप्य वा कार्यालयसम्बन्धी सूचना कानुनले अनुमति दिएको अवस्थाबाहेक सार्वजनिक गर्न पाउने छैनन्। साथै सरकारी नीति वा निर्णयको गलत अर्थ लाग्ने गरी सामाजिक सञ्जाल वा सञ्चार माध्यममा सामग्री प्रचार–प्रसार गर्न पनि निषेध गरिएको छ।
मन्त्रालयले नयाँ आचारसंहितामार्फत स्वास्थ्य संस्थामा अनुशासित, नैतिक, पारदर्शी र सेवामुखी कार्यसंस्कृतिको विकास गर्दै गुणस्तरीय स्वास्थ्य सेवाप्रति नागरिकको विश्वास अझ सुदृढ बनाउने अपेक्षा गरेको जनाएको छ।


