

काठमाडौं – नेपालमा डेंगु संक्रमितको संख्या एक हजार नाघेको छ। पछिल्लो अद्यावधिक विवरणअनुसार गत पुस १७ गतेदेखि हालसम्म देशभर एक हजार ४२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ भने दुई जनाको मृत्यु भएको छ।
स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार हालसम्म ७१ जिल्लामा डेंगु संक्रमण फैलिसकेको छ। झापा, सुनसरी, काठमाडौं, कास्की, चितवन, ओखलढुंगा, मकवानपुर, पाल्पालगायतका जिल्लामा संक्रमित भेटिएका छन्।
प्रदेशगत विवरणअनुसार सबैभन्दा बढी कोशी प्रदेशमा २९२ जना संक्रमित छन्। बागमती प्रदेशमा २६४, लुम्बिनीमा १६७, गण्डकीमा १६१, सुदूरपश्चिममा ६९, मधेसमा ५२ र कर्णाली प्रदेशमा ३७ जनामा संक्रमण पुष्टि भएको छ।
जिल्लागत रूपमा झापामा सबैभन्दा धेरै १३८ संक्रमित भेटिएका छन्। त्यसपछि काठमाडौंमा ६१, सुनसरीमा ५७, मकवानपुर र रूपन्देहीमा ५०–५०, कास्कीमा ४४, ओखलढुंगामा ३९, चितवनमा ३९ तथा पाल्पामा ३४ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ।
महाशाखाका एक अधिकारीका अनुसार डेंगुका सामान्य लक्षण देखिएमा प्रशस्त झोलिलो पदार्थ सेवन गर्ने, आराम गर्ने तथा चिकित्सकको सल्लाहअनुसार पारासिटामोल प्रयोग गर्दा अधिकांश बिरामी निको हुन्छन्। तर अत्यधिक पेट दुख्ने, रक्तश्राव हुने, बेहोस हुने वा अन्य जटिल लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनुपर्ने उनले बताए।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले डेंगु नियन्त्रणका लागि सरकारले पूर्वतयारीलाई तीव्र बनाएको जानकारी दिए। उनका अनुसार स्थानीय तह, विद्यालय, सुरक्षाकर्मी तथा निजी क्षेत्रसँग समन्वय गरी लामखुट्टेका लार्भा खोजेर नष्ट गर्ने ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गरिनेछ। जिल्ला स्वास्थ्य कार्यालय र स्थानीय तहहरूले पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।
सरकारले आगामी आर्थिक वर्षका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कार्यक्रम सञ्चालन गर्न ३० करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यसमध्ये स्थानीय तहमा ‘खोज र नष्ट गर’ अभियान सञ्चालन गर्न ३ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। साथै, स्थानीय तहसँग समन्वय गर्न प्रत्येक जिल्लाका लागि थप ५० हजार रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरिएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातका संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु सर्ने भएकाले घर, कार्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न नदिने, पानी राख्ने भाँडाहरू राम्रोसँग छोप्ने, काम नलाग्ने टायर, बोतल, टिन र प्लास्टिकजन्य सामग्रीमा पानी जम्न नदिने तथा फूलका गमलामा जमेको पानी नियमित फेर्ने बानी बसाल्नुपर्छ।
यसका साथै पूरा शरीर ढाक्ने कपडा लगाउने, झ्याल–ढोकामा जाली प्रयोग गर्ने, दिन वा रात जुनसुकै समयमा पनि झुल प्रयोग गर्ने तथा लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन ईडीसीडीले आग्रह गरेको छ।
स्वास्थ्य सेवा विभागका तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/०८२ मा देशभर ५४ हजार ३५० जना डेंगुबाट संक्रमित भएका थिए। त्यसभन्दा अघिल्लो वर्ष ४८ हजार ८८३ र आर्थिक वर्ष २०७९/०८० मा ५६ हजार ३३८ जनामा संक्रमण पुष्टि भएको थियो। यसले डेंगु नेपालमा सार्वजनिक स्वास्थ्यको प्रमुख चुनौतीका रूपमा निरन्तर फैलिँदै गएको देखाएको छ।


