

चितवन – भरतपुर अस्पतालले सेवा प्रवाहलाई थप सहज र प्रविधिमैत्री बनाउन अनलाइन टिकट तथा रिपोर्ट प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको छ। नयाँ प्रणाली लागू भएपछि बिरामीले ओपीडी टिकट काट्न वा स्वास्थ्य परीक्षणको रिपोर्ट लिन अस्पतालमा लामो लाइनमा बस्नुपर्ने बाध्यता हट्नेछ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेका अनुसार बिरामीले टिकट र रिपोर्ट टिकट–रिपोर्ट भेन्डिङ मेसिन (किओस्क) मार्फत प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ। प्रारम्भिक चरणमा अस्पतालले यस्ता दुईवटा मेसिन जडान गरिसकेको छ।
उनका अनुसार बिरामीले मोबाइल वा कम्प्युटरबाटै अनलाइन टिकट काट्न, आवश्यक विवरण भर्न, शुल्क तिर्न तथा रिपोर्टसम्बन्धी सेवा लिन सक्नेछन्।
अस्पतालका आईटी इन्जिनियर चन्द्रमणि बस्यालका अनुसार अस्पतालको वेबसाइटमा गएर ‘अनलाइन टिकट’ विकल्पमा क्लिक गरी बिरामीको विवरण भर्ने, आवश्यक सेवा छनोट गर्ने र अनलाइन भुक्तानी गरेपछि प्राप्त हुने क्यूआर कोड वा कोडलाई अस्पतालमा रहेको मेसिनमा स्क्यान गर्दा टिकट स्वतः प्रिन्ट हुनेछ।
‘पहिला अनलाइन टिकट काटे पनि अस्पताल आएर फेरि लाइनमा बस्नुपर्ने अवस्था थियो। अब स्क्यान गरेपछि मेसिनबाटै टिकट र रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था गरेका छौं,’ डा. बगालेले भने।
हाल दुईवटा मेसिनबाट सेवा सुरु गरिए पनि आवश्यकताअनुसार थप मेसिन जडान गरिने अस्पतालले जनाएको छ। भविष्यमा मोबाइल एपमार्फत पनि यही सेवा उपलब्ध गराउने तयारी भइरहेको डा. बगालेले बताए।
आईटी इन्जिनियर बस्यालका अनुसार स्वास्थ्य बीमा कार्ड स्क्यान गरेर बीमाको बाँकी रकम तथा कार्डको मान्य अवधि समेत मेसिनबाटै हेर्न सकिने सुविधा उपलब्ध हुनेछ। प्रणालीको परीक्षण सफल भइसकेकाले अब प्रयोगमा ल्याउने प्रक्रिया सुरु गरिएको उनले जानकारी दिए।
सेवाग्राहीलाई नयाँ प्रणाली प्रयोग गर्न सहज होस् भनेर अस्पतालले अनलाइन टिकट प्रयोग गर्ने विधिसम्बन्धी भिडियो सामग्री र जानकारीमूलक सूचना पनि सार्वजनिक गर्ने तयारी गरेको छ।
अहिलेलाई अनलाइन र परम्परागत दुवै प्रणाली सँगसँगै सञ्चालन गरिने भए पनि क्रमशः सबै सेवाग्राहीलाई अनलाइन प्रणालीमा अभ्यस्त बनाउँदै टिकट काउन्टर हटाउने लक्ष्य रहेको डा. बगालेले बताए।
उनले भविष्यमा ओपीडी जाँचका लागि समय निर्धारण (टाइम स्लट), अस्पतालमा बेड खाली भए–नभएको जानकारी तथा टिकटदेखि डिस्चार्जसम्मका अधिकांश सेवा पूर्ण रूपमा अनलाइनमार्फत उपलब्ध गराउने योजना रहेको पनि जानकारी दिए।


