

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा यही हप्तादेखि शुलभ फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिएको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनअनुसार मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाको नेतृत्वमा आइतबार वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) को स्थलगत अनुगमन गरिएको हो।
मन्त्रालयका अनुसार अस्पताल सुधार कार्यक्रमअन्तर्गत गरिएको अनुगमनमा स्वास्थ्य सेवा प्रवाह, सेवाग्राही सहजीकरण, भिड व्यवस्थापन, सरसफाइ तथा समग्र व्यवस्थापकीय अवस्थाको मूल्याङ्कन गरिएको थियो। निरीक्षणका क्रममा अस्पतालहरूले उपलब्ध गराउँदै आएको १० प्रतिशत निःशुल्क सेवा, सेवाको प्रभावकारिता तथा व्यवस्थापन पक्षमा देखिएका कमजोरी सुधार गर्न आवश्यक निर्देशन पनि दिइएको छ।
अनुगमनपछि वीर अस्पताल र ट्रमा सेन्टरलाई यही साताभित्र शुलभ फार्मेसी सञ्चालनमा ल्याउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
यस्तै, वीर अस्पतालको केडी जोशी बर्न युनिटलाई थप स्तरीय बनाउन आवश्यक सुधारका काम अघि बढाइएको र बर्न उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आवश्यक तालिमसमेत प्रदान भइरहेको अनुगमन टोलीले जनाएको छ।


