

काठमाडौं – आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा रोपाइँ पर्व। यस दिन खेतमा धान रोप्ने, दही–चिउरा खाने र खेतीपातीसँग जोडिएका विभिन्न परम्परा मनाउने चलन नेपाली समाजमा पुरानै हो। कृषिमा संलग्न मात्र होइन, अन्य पेशा–व्यवसायमा रहेका नेपालीहरूले पनि दही–चिउरा खाएर यो दिनलाई विशेष रूपमा मनाउने गर्छन्।
परम्परासँगै दही–चिउरा स्वास्थ्यका दृष्टिले पनि निकै पौष्टिक मानिन्छ। दहीमा पाइने प्रोटिन, क्याल्सियम, भिटामिन तथा लाभदायी ब्याक्टेरिया र चिउरामा रहेको कार्बोहाइड्रेट, आइरन तथा अन्य पोषक तत्वले शरीरलाई विभिन्न प्रकारका फाइदा पुर्याउने चिकित्सकहरू बताउँछन्।
दही खानुका फाइदा
१. पाचन प्रणालीलाई स्वस्थ राख्छ
दहीमा पाइने प्रोबायोटिक अर्थात् लाभदायी ब्याक्टेरियाले पाचन प्रणालीलाई सन्तुलित राख्न मद्दत गर्छ। मसालेदार वा गह्रौं खाना खाएपछि हुने असहजता कम गर्न पनि दही उपयोगी मानिन्छ।
२. मुटुको स्वास्थ्यमा लाभदायी
दहीले शरीरमा खराब कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्ने भएकाले नियमित सेवनले मुटुसम्बन्धी समस्या कम गर्न मद्दत पुग्न सक्छ।
३. रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
दहीमा रहेका लाभदायी जीवाणुले शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन सहयोग पुर्याउँछन्।
४. दाँत र हड्डी बलियो बनाउँछ
क्याल्सियम र फस्फोरस प्रशस्त हुने भएकाले दहीको नियमित सेवनले दाँत तथा हड्डी मजबुत बनाउन मद्दत गर्छ र हड्डीसम्बन्धी समस्याको जोखिम कम हुन सक्छ।
५. छालाको सौन्दर्य बढाउँछ
दहीमा पाइने जिङ्क, भिटामिन ई र अन्य खनिज तत्वले छालालाई स्वस्थ र चम्किलो राख्न सहयोग गर्छन्। त्यसैले दही घरेलु फेस प्याकका रूपमा पनि प्रयोग गरिन्छ।
६. कपालको चायाँ हटाउन सहयोगी
दहीमा रहेको ल्याक्टिक एसिडले कपालको चायाँ कम गर्न मद्दत गर्छ। मेहेन्दीसँग दही मिसाएर लगाउँदा कपाल नरम र चम्किलो बन्ने विश्वास गरिन्छ।
७. तौल नियन्त्रणमा सहयोग
दहीमा रहेको क्याल्सियमले शरीरमा कार्टिसोलको सन्तुलन कायम राख्न सहयोग पुर्याउने भएकाले तौल नियन्त्रणमा पनि यसको भूमिका रहने बताइन्छ।
८. तनाव कम गर्न सहयोगी
केही अध्ययनका अनुसार दहीको सेवनले शरीरलाई आराम महसुस गराउन र मानसिक तनाव तथा चिन्ता कम गर्न मद्दत पुर्याउन सक्छ।
चिउरा खानुका फाइदा
१. पोषक तत्वले भरिपूर्ण
चिउरामा भिटामिन ए, भिटामिन सी, क्याल्सियम तथा आइरनजस्ता आवश्यक पोषक तत्व पाइन्छ।
२. मुटुको स्वास्थ्यका लागि राम्रो
चिउरामा बोसो (फ्याट) र ल्याक्टोजको मात्रा अत्यन्त कम हुने भएकाले यो मुटुको स्वास्थ्यका लागि उपयुक्त खाद्य पदार्थ मानिन्छ।
३. आइरन र ऊर्जा राम्रो स्रोत
चिउरामा आइरन, भिटामिन बी, कार्बोहाइड्रेट र प्रोटिन पाइने भएकाले यसले शरीरलाई आवश्यक ऊर्जा प्रदान गर्छ।
४. सन्तुलित भोजन बनाउन सकिन्छ
चिउरामा तरकारी, दाल, फलफूल वा दही मिसाएर खाँदा यसलाई सन्तुलित भोजनका रूपमा प्रयोग गर्न सकिन्छ।
५. लामो समय ऊर्जा दिन्छ
कार्बोहाइड्रेट प्रशस्त हुने भएकाले चिउराले शरीरमा ऊर्जा कायम राख्न सहयोग पुर्याउँछ।
६. सजिलै पच्ने
चिउरा हल्का हुने भएकाले पाचन प्रणाली कमजोर भएका व्यक्तिका लागि पनि उपयुक्त मानिन्छ।
७. मधुमेहका बिरामीका लागि उपयोगी
चिउराको सेवनले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ र रगतमा चिनीको मात्रा एक्कासि बढ्न नदिई बिस्तारै अवशोषित हुन मद्दत गर्न सक्छ। त्यसैले चिकित्सकको सल्लाहअनुसार उचित मात्रामा सेवन गर्दा मधुमेहका बिरामीका लागि पनि उपयोगी हुन सक्छ।
असार १५ को परम्परागत परिकार दही–चिउरा स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिले पनि निकै लाभदायी मानिन्छ। सन्तुलित मात्रामा सेवन गरे यसले शरीरलाई आवश्यक पोषण, ऊर्जा र रोग प्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण योगदान पुर्याउन सक्छ।


