

काठमाडौं- भारतीय प्राकृतिक चिकित्सा तथा योग स्नातक चिकित्सक संघ (इन्डियन नेचुरोप्याथी एन्ड योग ग्राजुएट्स मेडिकल एसोसिएसन–आईएनवाईजीएमए) ले बीएनवाईएस (बैचलर अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेज) चिकित्सक डा. चेतना पौडेल पक्राउ परेको घटनाप्रति गम्भीर चासो र चिन्ता व्यक्त गरेको छ।
संघले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै डा. पौडेललाई ‘नक्कली प्रमाणपत्र’ प्रयोग गरेको तथा ‘डा.’ उपाधि प्रयोग गरेको आरोपमा पक्राउ गरिएको समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो।
विज्ञप्तिमा डा. पौडेल भारतको बेङ्गलुरुस्थित राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालय (आरजीयूएचएस) अन्तर्गत एसडीएम कलेज अफ नेचुरोप्याथी एन्ड योगिक साइन्सेजबाट बीएनवाईएस अध्ययन पूरा गरेकी योग्य चिकित्सक रहेको उल्लेख गरिएको छ। उक्त कार्यक्रम पूर्णकालीन व्यावसायिक अध्ययन भएको र यसमा विस्तृत शैक्षिक अध्ययन, क्लिनिकल तालिम तथा अनिवार्य इन्टर्नसिप समावेश रहेको संघले जनाएको छ।
संघका अनुसार डा. पौडेलको शैक्षिक योग्यता नेपालमा पनि मान्य छ। उनको बीएनवाईएस डिग्रीले त्रिभुवन विश्वविद्यालयबाट समकक्षता प्राप्त गरेको र उनी नेपाल स्वास्थ्य व्यवसायी परिषद् (एनएचपीसी) मा विधिवत् दर्ता भई नेपालमा प्रचलित कानुनी व्यवस्थाअनुसार अभ्यास गरिरहेकी चिकित्सक हुन्।
आईएनवाईजीएमएले ‘डा.’ उपाधि बीएनवाईएस शैक्षिक योग्यतासँग सम्बन्धित शैक्षिक उपाधि भएको स्पष्ट पारेको छ। मान्यता प्राप्त विश्वविद्यालयले व्यावसायिक पाठ्यक्रम पूरा गरेपछि प्रदान गर्ने शैक्षिक उपाधि भएकाले यसको प्रयोगलाई नक्कली वा अवैध भन्न नमिल्ने संघको भनाइ छ। व्यावसायिक अभ्यासको नियमन सम्बन्धित परिषद्ले गर्ने भए पनि ‘डा.’ उपाधि भने विश्वविद्यालयबाट प्रदान हुने शैक्षिक मान्यता भएको विज्ञप्तिमा उल्लेख छ।
नेपालमा हाल बीएनवाईएस चिकित्सकका लागि छुट्टै कानुनी परिषद् नरहेको र उनीहरू विद्यमान स्वास्थ्य व्यवसायी दर्ता प्रणालीमार्फत नियमन हुँदै आएको पनि संघले जनाएको छ।
शैक्षिक योग्यता वा व्यावसायिक प्रमाणपत्रसम्बन्धी कुनै पनि आरोपको मूल्याङ्कन आधिकारिक शैक्षिक अभिलेख, विश्वविद्यालयका कागजात, समकक्षता, मान्यता तथा प्रचलित कानुनी व्यवस्थाका आधारमा गर्नुपर्ने संघको माग छ। कुनै पनि योग्य स्वास्थ्यकर्मीमाथि निष्कर्ष निकाल्नुअघि निष्पक्ष प्रक्रिया अपनाउनुपर्नेमा पनि जोड दिइएको छ।
संघले सम्बन्धित निकायलाई प्रमाण र तथ्यमा आधारित निष्पक्ष अनुसन्धान गर्न तथा बीएनवाईएस चिकित्सकको योग्यता र मान्यताबारे रहेको भ्रमका कारण उनीहरूको व्यावसायिक प्रतिष्ठामा आँच पुग्न नदिन आग्रह गरेको छ।
त्यस्तै, नेपाल सरकारले परम्परागत चिकित्सा प्रणालीको विकासलाई फराकिलो दृष्टिकोणबाट हेर्नुपर्ने र योग तथा प्राकृतिक चिकित्सा चिकित्सकको छवि र मनोबल कमजोर पार्ने गतिविधि रोक्न पहल गर्नुपर्ने माग पनि संघले गरेको छ।
आईएनवाईजीएमएका कार्यकारी निर्देशक डा. राजेश कुमार सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा योग्य योग तथा प्राकृतिक चिकित्सा चिकित्सकको हित संरक्षण गर्दै बीएनवाईएस योग्यताको शैक्षिक र व्यावसायिक वैधानिकताबारे जनचेतना अभिवृद्धि गर्न संघ निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरिएको छ।



