

काठमाडौं – दम (अस्थमा) तथा दीर्घकालीन अवरोधात्मक फोक्सो रोग (सिओपिडी) को उपचारमा व्यापक रूपमा प्रयोग हुने चर्चित औषधी ‘सेरोफ्लो रोटाक्याप्स’ को नक्कली संस्करण नेपाली बजारमा बिक्रीवितरण भइरहेको पाइएको छ। यससँगै औषधी व्यवस्था विभागले चिकित्सक, फार्मासिस्ट, अस्पताल, औषधी व्यवसायी र सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागका अनुसार भारतीय औषधी उत्पादक कम्पनी सिप्ला लिमिटेडले उत्पादन गर्ने ‘सेरोफ्लो रोटाक्याप्स’सँग मिल्दोजुल्दो नक्कली औषधी बजारमा भेटिएको हो।
विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले बिरामीको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सक्कली औषधी मात्रै सिफारिस, बिक्री तथा प्रयोग गर्न आग्रह गरेकी छन्। उनले शङ्कास्पद औषधी फेला परे तत्काल प्रयोग नगर्न र विभागलाई जानकारी गराउन अनुरोध गरेकी छन्।
उनका अनुसार ब्याच नम्बर 5SAA086, उत्पादन मिति अप्रिल २०२५ र म्याद समाप्ति मार्च २०२७ भएको नक्कली औषधीमा सक्कलीसँग केही स्पष्ट प्राविधिक भिन्नता भेटिएको छ। नक्कली औषधीको प्रयोगले उपचारको प्रभावकारिता घट्नुका साथै बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउन सक्ने विभागको चेतावनी छ।
औषधी आयातकर्ता सङ्घका अध्यक्ष पवन आचार्यले औषधीजस्तो संवेदनशील वस्तुमा नक्कली उत्पादन बजारमा पुग्नु अत्यन्तै गम्भीर विषय भएको बताएका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्। नक्कली औषधीले बिरामीको स्वास्थ्य मात्रै होइन, सक्कली औषधीको बजारलाई समेत असर पुर्याइरहेको उनको भनाइ छ।
विभागका अनुसार सक्कली र नक्कली औषधी छुट्याउन केही संकेतहरू पहिचान गर्न सकिन्छ। सक्कली प्याकेटमा सावधानीसम्बन्धी विवरणपछि कालो रङको पूर्णविराम हुन्छ भने नक्कलीमा रातो रङको पूर्णविराम प्रयोग गरिएको छ। उत्पादक कम्पनीको ठेगानामा सक्कलीमा प्रयोग भएको अल्पविराम नक्कलीमा पूर्णविराम राखिएको पाइएको छ।
त्यस्तै, भित्री बट्टाको लेबलमा पनि फरक देखिएको छ। सक्कली औषधीमा एउटा मात्र लेबल हुन्छ भने नक्कलीमा पुरानो लेबलमाथि अर्को लेबल टाँसिएको छ। रातो चेतावनी बक्सभित्रका केही शब्द सक्कलीमा छुट्टाछुट्टै स्पष्ट छापिएका भए पनि नक्कलीमा जोडिएर छापिएको विभागले जनाएको छ।
विभागले शङ्कास्पद औषधी फेला परे बिरामीलाई तत्काल प्रयोग बन्द गर्न, खरिद गरिएको औषधी पसललाई जानकारी दिन तथा फार्मेसी र थोक विक्रेतालाई सम्बन्धित ब्याचको बिक्री रोक्न र मौज्दात फिर्ता गर्न निर्देशन दिएको छ।
‘सेरोफ्लो रोटाक्याप्स’ दम र सिओपिडीका बिरामीमा श्वासप्रश्वास सहज बनाउन प्रयोग गरिने औषधी हो। यसले श्वासनली खुला राख्न र सास फेर्न हुने कठिनाइ कम गर्न मद्दत गर्छ। विभागले सम्बन्धित ब्याचका औषधीमाथि विशेष निगरानी गर्न तथा कुनै पनि शङ्का लागे तत्काल जानकारी गराउन सबै सरोकारवालासँग आग्रह गरेको छ।


