

काठमाडौं – फिफा विश्वकप २०२६ को रोमाञ्चक माहोलले विश्वभरका फुटबल समर्थकहरूलाई उत्साहित बनाइरहेको छ। नेपालसहित विभिन्न देशका समर्थकहरू फरक समय क्षेत्रका कारण राति अबेरसम्म वा रातभर जाग्राम बसेर खेल हेर्न बाध्य छन्।
तर लगातार राति जाग्राम बस्दा शारीरिक स्वास्थ्य, मानसिक सन्तुलन र दैनिक कार्यक्षमतामा नकारात्मक असर पर्न सक्ने भन्दै स्वास्थ्य विज्ञहरूले खेलको आनन्दसँगै स्वास्थ्यको पनि ख्याल गर्न आग्रह गरेका छन्। उनीहरूले विश्वकपका खेल हेर्दा अपनाउनुपर्ने केही महत्वपूर्ण सुझाव दिएका छन्।
१. खेलअघि छोटो समय ‘पावर न्याप’ लिनुहोस्
राति ढिलो हुने खेल हेर्नुअघि साँझतिर २० देखि ३० मिनेटसम्म छोटो निद्रा लिन सकिन्छ। यस्तो ‘पावर न्याप’ ले शरीरको थकान कम गर्नुका साथै खेल हेर्दा ताजापन कायम राख्न मद्दत गर्छ। तर धेरै समय सुत्दा पुनः ब्युँझिएपछि अल्छी लाग्ने र राति निदाउन समस्या हुन सक्छ।
२. क्याफिनयुक्त पेय पदार्थ सीमित मात्रामा सेवन गर्नुहोस्
खेल हेर्दा जागा बस्न धेरैले कफी, चिया वा इनर्जी ड्रिंकको प्रयोग गर्छन्। तर राति धेरै क्याफिन सेवन गर्दा खेल सकिएपछि पनि निद्रा नलाग्ने समस्या हुन सक्छ। त्यसैले खेलको सुरुआती समयमा मात्रै यस्ता पेय पदार्थ सेवन गर्न र पछि पानी वा अन्य स्वस्थकर पेय पदार्थ रोज्न विज्ञहरूको सुझाव छ।
३. भारी खानाभन्दा हल्का खाजा रोज्नुहोस्
राति अबेरसम्म जागा बस्दा भोक लाग्नु स्वाभाविक हो। तर अत्यधिक चिल्लो, बोसोयुक्त वा भारी खाना खानुभन्दा फलफूल, बदाम, दही तथा चोकरयुक्त अन्नबाट बनेका हल्का परिकार खानु उपयुक्त हुन्छ। यसले पाचन प्रणालीमा कम असर पार्ने र निद्राको गुणस्तर पनि कायम राख्ने विश्वास गरिन्छ।
४. खेलपछि शरीर र मस्तिष्कलाई आराम दिनुहोस्
रोमाञ्चक खेल सकिएलगत्तै निदाउन कठिन हुन सक्छ। त्यसैले खेलपछि केही समय शरीर र मस्तिष्कलाई शान्त बनाउने गतिविधि गर्नु लाभदायक हुन्छ। हल्का स्ट्रेचिङ, पुस्तक पढ्ने वा मधुर संगीत सुन्ने जस्ता उपायले शरीरलाई आराम मिल्ने र सहज रूपमा निद्रा लाग्न मद्दत पुग्ने विज्ञहरूको भनाइ छ।
५. खेलपछि मोबाइल र स्क्रिनबाट टाढा रहनुहोस्
खेल सकिएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया हेर्ने, हाइलाइट्स वा विभिन्न भिडियोहरू हेर्दै समय बिताउने बानी धेरैमा हुन्छ। तर मोबाइल तथा अन्य डिजिटल उपकरणबाट निस्कने नीलो प्रकाशले निद्रासँग सम्बन्धित ‘मेलाटोनिन’ हर्मोनको उत्पादनमा असर पुर्याउन सक्छ। त्यसैले खेल सकिएपछि सकेसम्म स्क्रिन प्रयोग कम गर्न सुझाव दिइएको छ।
स्वास्थ्यविद्हरूका अनुसार विश्वकपको रोमाञ्चकता जति महत्वपूर्ण भए पनि पर्याप्त निद्रा, सन्तुलित आहार र स्वस्थ जीवनशैलीलाई बेवास्ता गर्नु उचित हुँदैन। खेलको मजा लिँदै आफ्नो स्वास्थ्यको ख्याल राख्नु नै सबैभन्दा राम्रो विकल्प हुने उनीहरूको सुझाव छ।


