

काठमाडौं – त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आगामी असार १५ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा आउने भएको छ। करिब छ महिनादेखि रोकिएको बीमा सेवा पुनः सुरु गर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ।
यसअघि माघ १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम बन्द गरिएको थियो। स्वास्थ्य बीमा बोर्डबाट प्राप्त हुनुपर्ने करिब ५० करोड रुपैयाँ बराबरको दाबी भुक्तानी नआएपछि सेवा स्थगित गर्नुपरेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले बताए।
उनका अनुसार स्वास्थ्य बीमा अन्तर्गतको उपचार सेवा प्रदान गरेबापतको ठूलो रकम लामो समयसम्म भुक्तानी नहुँदा अस्पताल आर्थिक रूपमा प्रभावित भएको थियो।
‘अस्पतालले पाउनुपर्ने करिब ५० करोड रुपैयाँ भुक्तानी हुन बाँकी थियो। उक्त रकम नपाएपछि स्वास्थ्य बीमा कार्यक्रम रोकिएको थियो,’ रोसायराले भने, ‘अब असार १५ गतेदेखि सेवा पुनः सञ्चालनमा ल्याइँदैछ।’
अस्पतालले विगत दुईदेखि तीन वर्षसम्म स्वास्थ्य बीमा प्याकेजअन्तर्गतको रकम समयमै नपाउँदा सेवा सञ्चालनमा कठिनाइ भएको जनाएको छ।
रोसायराका अनुसार अब सञ्चालनमा ल्याइने स्वास्थ्य बीमा सेवा अघिल्लो व्यवस्थाभन्दा केही फरक ढाँचामा कार्यान्वयन गर्ने तयारी गरिएको छ। नयाँ व्यवस्थाले सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको उनले बताए।
स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालन हुने भएपछि विशेषगरी निम्न आय भएका तथा आर्थिक रूपमा कमजोर बिरामीलाई राहत पुग्ने विश्वास अस्पतालले गरेको छ।


