

काठमाडौं – जनकपुरस्थित जानकी मेडिकल कलेजका सञ्चालक ओमप्रसाद पाण्डेमाथिको कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धान प्रहरीले पूरा गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जेठ २० गते धनुषाबाट पक्राउ गरेका पाण्डेसहित १२ जनाविरुद्ध विभिन्न मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालयलाई राय दिएको हो।
सीआईबीको अनुसन्धान अनुसार राम जानकी हेल्थ फाउन्डेसनका सञ्चालक पाण्डेले सेल कम्पनी तथा कृत्रिम व्यवसाय खडा गरेर प्रभु बैंकबाट लिएको कर्जा दुरुपयोग गरेका थिए। महोत्तरीको बर्दिबास नगरपालिका–६ मा ‘इन्स्टिच्युट अफ एग्रिकल्चर फरेस्ट एण्ड भेटेरिनरी साइन्सेज प्रालि’ नामक कम्पनी स्थापना गरी बैंकबाट कर्जा लिएर उक्त रकम अन्य प्रयोजनमा प्रयोग गरिएको निष्कर्ष अनुसन्धानबाट निकालिएको छ।
प्रहरीले जानकी मेडिकल कलेजका अध्यक्ष पाण्डेसहित प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, डेपुटी सीईओ मनिराम पोखरेल, कर्जा विभाग प्रमुख ऋवश श्रेष्ठ, मानव स्रोत विभागकी रश्मी श्रेष्ठ तथा जानकी मेडिकल कलेजका सञ्चालकहरू हरिमान लामा, धनबहादुर शेरचन, महावीर तामाङ, सुरेश कुमारी तिवारी र हरिकृष्ण भट्टचनलगायत १२ जनालाई प्रतिवादी बनाउन राय दिएको छ।
सीआईबीले आरोपीहरूविरुद्ध छुट्टाछुट्टै तीनवटा मुद्दा दर्ता गर्न सिफारिस गरेको जनाएको छ। बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा २० करोड १७ लाख रुपैयाँ बिगो दाबी गर्नुपर्ने राय दिइएको छ।
यस्तै, बैंकलाई ब्याज नतिरी आर्थिक हानि पुर्याएको तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) को दफा १०३ अन्तर्गतको कसुरमा १ अर्ब २४ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी लिनुपर्ने सुझाव अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ।
तेस्रो मुद्दामा भने आरोपीहरूमाथि ७२ करोड ७७ लाख रुपैयाँ बिगो कायम गरी अभियोग दर्ता गर्नुपर्ने राय दिइएको छ।
सीआईबीका अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोज केसीका अनुसार अनुसन्धान सम्पन्न गरी प्रतिवेदन काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइसकिएको छ।
यसैबीच, प्रभु ग्रुपका सञ्चालक देवीप्रकाश भट्टचनलाई पनि प्रतिवादी बनाउन सीआईबीले राय दिएको छ। भट्टचनविरुद्ध मात्रै १ अर्ब २८ करोड २६ लाख रुपैयाँ बिगो कायम गरी अभियोग दायर गर्नुपर्ने सिफारिस गरिएको छ।


