

काठमाडौं- देशभर रेबिजविरुद्धको भ्याक्सिन (खोप) को माग तीव्र रूपमा बढेपछि आपूर्ति व्यवस्थापनमा चुनौती देखिएको छ। पर्याप्त मात्रामा खोप उपलब्ध हुन नसक्दा केही स्वास्थ्य संस्थाहरूले आफ्नै स्रोतबाट खोप खरिद गरेर सेवा सञ्चालन गर्नुपरेको अवस्था आएको छ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूका अनुसार चालु आर्थिक वर्षमा खरिद गरिएको खोपको परिमाणभन्दा खोप लगाउनेको संख्या उल्लेख्य रूपमा बढेपछि अहिले अभावको अवस्था सिर्जना भएको हो।
रेबिजविरुद्धको खोप लगाउन अस्पताल पुग्ने अधिकांश बिरामी कुकुरले टोकेका हुने गरेका छन्। अस्पतालहरूमा कुकुर, बाँदर, बिरालो, स्याल, भालु, चितुवा तथा अन्य जनावरको टोकाइपछि खोप लगाउन आउनेहरूको संख्या बढ्दो क्रममा रहेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) का ओपीडी इन्चार्ज शंकर पाण्डेका अनुसार मङ्गलबार ५५९, बुधबार ५४८ र बिहीबार ६७२ जनाले रेबिजविरुद्धको खोप लगाएका थिए।
टेकु अस्पतालको तथ्यांकअनुसार खोप लगाउन आउनेमध्ये करिब ९५ प्रतिशत कुकुरले टोकेका बिरामी हुन्छन्। बाँदरले टोकेका २ प्रतिशत, बिरालोले टोकेका करिब १ प्रतिशत तथा अन्य जनावरले टोकेका २ प्रतिशत बिरामी खोपका लागि अस्पताल पुग्ने गरेका छन्।
चिकित्सकहरूका अनुसार रेबिज रोग लागिसकेपछि उपचारको सम्भावना अत्यन्त न्यून हुन्छ र मृत्युदर लगभग शतप्रतिशत मानिन्छ। टेकु अस्पतालको रेकर्डअनुसार पछिल्लो पाँच वर्षमा ५५ जना रेबिज संक्रमित बिरामी भर्ना भएका छन्।
तथ्यांकअनुसार सन् २०२२ मा ४ जना, २०२३ मा ६ जना, २०२४ मा १९ जना र २०२६ मा ४ जना रेबिजका बिरामी अस्पतालमा भर्ना भएका थिए।
ओपीडी इन्चार्ज पाण्डेका अनुसार पछिल्लो समय जनचेतना बढेकाले जनावरले टोकेपछि तुरुन्तै खोप लगाउने प्रवृत्ति बढेको छ। “पहिले धेरैले खोप लगाउँदैनथे, अहिले सचेतना बढेकाले माग पनि उल्लेख्य रूपमा बढेको छ,” उनले बताए।
टेकु अस्पतालका अनुसार पछिल्ला तीन वर्षमा रेबिजविरुद्धको खोप लगाउनेको संख्या निरन्तर बढिरहेको छ।
आर्थिक वर्ष २०८०/०८१ मा ६३ हजार ८१५ जनालाई एक लाख ४२ हजार १४९ डोज खोप लगाइएको थियो।
आर्थिक वर्ष २०८१/०८२ मा खोप लगाउनेको संख्या बढेर ८० हजार ३७९ पुगेको थियो भने एक लाख ६० हजार ४०८ डोज खोप प्रयोग भएको थियो।
चालु आर्थिक वर्ष २०८२/०८३ को जेठ मसान्तसम्म एक लाख ७७ हजार ७८७ डोज रेबिजविरुद्धको खोप प्रयोग भइसकेको छ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले तत्काल अभाव समाधान गर्न एक साताभित्र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) मार्फत ४ हजार ५ सय भाइल रेबिजविरुद्धको खोप नेपाल आइपुग्ने जनाएको छ।
स्वास्थ्यमन्त्री निशा मेहताले संसद्मा जानकारी दिँदै चालु आर्थिक वर्षमा दुई पटकसम्म टेन्डर प्रक्रिया रद्द हुनुपरेकाले आपूर्तिमा ढिलाइ भएको बताइन्। उनका अनुसार कानुनी प्रक्रिया पूरा भएसँगै खोप आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।
मन्त्री मेहताले हाल देशभर १४ हजार ४७४ भाइल रेबिज भ्याक्सिन मौज्दात रहेको र आवश्यकता अनुसार संघीय तथा प्रदेश अस्पतालमा आपूर्ति व्यवस्थापन केन्द्रमार्फत वितरण भइरहेको जानकारी दिइन्। आगामी वर्ष यस्ता समस्या दोहोरिन नदिन बहुवर्षीय खरिद प्रणाली लागू गरिने पनि उनले बताइन्।
स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखाका अनुसार चालु आर्थिक वर्षमा १६ करोड ९८ लाख रुपैयाँ बराबरको रेबिजविरुद्धको खोप खरिदका लागि ठेक्का सम्झौता भइसकेको छ। एक एमएलका २ लाख ३४ हजार भाइल तथा ०.५ एमएलका १ लाख ९० हजार भाइल खोप आपूर्तिको प्रक्रिया अघि बढिसकेको विभागले जनाएको छ।
महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख चेतननिधि वाग्लेका अनुसार प्रदेशहरूमा हाल करिब ११ हजार भाइल रेबिजविरुद्धको खोप मौज्दात छ भने केन्द्रीय स्तरमा पनि थप खोप स्टक राखिएको छ। “खोपको आपूर्ति सहज बनाउन निरन्तर काम भइरहेको छ,” उनले बताए।


