

नेपालगन्ज – यातायात व्यवस्था कार्यालय नेपालगन्जमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा नवीकरणका लागि आवश्यक पर्ने मेडिकल परीक्षणमा अनियमितता गरेको आरोपमा प्रहरीले दुई चिकित्सकसहित पाँच जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आवश्यक प्रक्रिया पूरा नगरी तथा आधिकारिक मेडिकल जाँचबिना नै ‘निरोगिताको प्रमाणपत्र’ वितरण गरिएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतितसिंह राठौरका अनुसार चालक अनुमतिपत्र लिन तथा नवीकरणका लागि आवश्यक मेडिकल जाँच आधिकारिक चिकित्सकमार्फत हुनुपर्ने व्यवस्था भए पनि नियमविपरीत रकम लिएर प्रमाणपत्र जारी गरिएको पाइएको छ।
प्रहरीका अनुसार २०० रुपैयाँ लिएर निरोगिताको प्रमाणपत्र वितरण भइरहेको भन्ने सूचना पाएपछि प्रहरी टोली परिचालन गरी निगरानी गरिएको थियो। सोही क्रममा कैफियत देखिएपछि दुई चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूको नाम भने हाल अनुसन्धान प्रभावित हुन सक्ने भन्दै सार्वजनिक गरिएको छैन। उनीहरूमाथि विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
डीएसपी राठौरका अनुसार प्रारम्भिक अनुसन्धानमा नियमविपरीत मेडिकल रिपोर्ट तयार गरी वितरण गरिएको देखिएको छ। घटनामा संलग्न अन्य बिचौलियाको भूमिका समेत रहेको आशंका गरिएको छ।
प्रहरीले पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरी कानुनी कारबाही अघि बढाइने जनाएको छ। घटनापछि यातायात व्यवस्था कार्यालयमा हुने मेडिकल प्रक्रियामाथि पनि प्रश्न उठेको छ।


