

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा राजधानीका ठूला सरकारी अस्पताल तथा कलेजका क्यान्टिनहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा विभिन्न खाद्य स्वच्छता तथा व्यवस्थापनसम्बन्धी कमजोरी फेला परेपछि सम्बन्धित व्यवसायीहरूलाई सुधारका लागि निर्देशन दिइएको छ ।
विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार यो साताभर गरिएको संयुक्त अनुगमनका क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा सञ्चालित ‘एमबी चमेना गृह’ को निरीक्षण गरिएको थियो ।
अनुगमनका क्रममा केही पकाइएका खाद्य पदार्थ खुला रूपमा राखिएको, कीट नियन्त्रणका लागि बाह्य कम्पनीलाई जिम्मेवारी दिइए पनि प्रभावकारी रूपमा पेस्ट कन्ट्रोल नभएको तथा फोहरदानीको उचित प्रयोग नगरिएको पाइएको विभागले जनाएको छ ।
त्यस्तै, खाना पकाउने स्थान र भाँडा सफा गर्ने क्षेत्र एउटै ठाउँमा रहेको तथा भान्साको सरसफाइ सामान्य अवस्थामा रहेको पाइएको थियो । यद्यपि खाना पकाउन जार तथा बोतलको पानी प्रयोग गरिएको र कृत्रिम खाद्य रङ प्रयोग नगरिएको पक्षलाई सकारात्मक रूपमा लिइएको विभागले जनाएको छ ।
अनुगमन टोलीले उक्त चमेना गृहलाई नियमित सरसफाइ गर्न, खुट्टाले खोल्न मिल्ने फोहरदानी प्रयोग गर्न, तयार खाद्य पदार्थ उचित तापक्रममा भण्डारण गर्न तथा स्वीकृत उद्योगबाट उत्पादित पूर्ण लेबलयुक्त खाद्य सामग्री मात्रै प्रयोग गर्न निर्देशन दिएको छ ।
यस्तै, वीर अस्पताल परिसरमा सञ्चालित ‘गुजेश्वरी होटल प्रालि’ को क्यान्टिनमा पनि अनुगमन गरिएको थियो । निरीक्षणका क्रममा भान्सा साँघुरो रहेको, खाना पकाउने स्थान अपर्याप्त भएको, सरसफाइ सामान्य अवस्थामा रहेको तथा पेस्ट कन्ट्रोल र एक्जस्ट प्रणाली प्रभावकारी नभएको पाइएको छ ।
यद्यपि खाना पकाउन प्रयोग गरिएको तेलको गुणस्तर परीक्षण गर्दा ‘टोटल पोलार मटेरियल’ (टीपीएम) १२.५ प्रतिशत रहेको र मापदण्डअनुसार नै रहेको विभागले जनाएको छ । टोलीले क्यान्टिनलाई भान्साको संरचनात्मक सुधार, प्रभावकारी पेस्ट कन्ट्रोल तथा एक्जस्ट प्रणालीको व्यवस्था गर्न र तयार खाना उचित तापक्रममा राख्न निर्देशन दिएको छ ।
यसैगरी, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पतालमा सञ्चालित ‘मनकामना रिसब क्यान्टिन’ को निरीक्षण गर्दा थप गम्भीर कमजोरीहरू फेला परेका छन् ।
विभागका अनुसार उक्त क्यान्टिनमा कृत्रिम खाद्य रङ अव्यवस्थित रूपमा प्रयोग गरिएको, प्रवेशद्वार नजिकको संरचना अत्यन्त जीर्ण अवस्थामा रहेको तथा पेस्ट कन्ट्रोल र फोहर व्यवस्थापन सन्तोषजनक नभएको पाइएको थियो । साथै खुला रूपमा खाद्य सामग्री भण्डारण गरिएको र उपभोग्य मिति समाप्त भइसकेका एक–एक किलोका ६ प्याकेट चाउमिन भेटिएपछि ती सामग्री तत्काल नष्ट गरिएको छ ।
क्यान्टिनमा प्रयोग गरिएको तेलको टीपीएम मान १६.५ प्रतिशत रहेकाले तेल भने मापदण्डअनुकूल रहेको विभागले जनाएको छ । टोलीले क्यान्टिन सञ्चालकलाई नियमित सरसफाइ गर्न, जीर्ण संरचना सुधार गर्न तथा अनुमतिप्राप्त उद्योगबाट उत्पादित पूर्ण लेबलयुक्त खाद्य सामग्री मात्रै प्रयोग गर्न कडा निर्देशन दिएको छ ।
यता, काठमाडौँको सेन्ट जेभियर्स कलेजमा सञ्चालित ‘सिवास फुड क्याटरिङ सर्भिसेज’ क्यान्टिनमा पनि अनुगमन गरिएको थियो । निरीक्षणका क्रममा अनुज्ञापत्र नलिएका उद्योगबाट उत्पादित तथा पूर्ण लेबल विवरण नभएका प्रशोधित खाद्य सामग्री प्रयोग भइरहेको पाइएको विभागले जनाएको छ ।
क्यान्टिनको सरसफाइ र पेस्ट कन्ट्रोलको अवस्था सामान्य रहेको तथा तेलको टीपीएम मान १६.५ प्रतिशत रहेकाले गुणस्तर मापदण्डअनुसार रहेको पाइएको छ ।
अनुगमन टोलीले कलेज क्यान्टिनलाई खाद्य स्वच्छता कायम राख्न, पेस्ट कन्ट्रोल तथा एक्जस्ट प्रणाली थप प्रभावकारी बनाउन, तयार खाना सुरक्षित तापक्रममा भण्डारण गर्न तथा अनुमतिप्राप्त उद्योगबाट उत्पादित पूर्ण लेबलयुक्त खाद्य सामग्री मात्रै प्रयोग गर्न निर्देशन दिएको छ ।
विभागले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित खाद्य व्यवसायमा नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ ।


