

काठमाडौं – सरकारले औषधीको मूल्य समायोजन गर्ने तयारी अघि बढाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बुधबार प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै एक साताभित्र औषधी परामर्श परिषद्को बैठक बोलाइने र मूल्य समायोजन प्रक्रियालाई अघि बढाइने जानकारी दिइन्।
सांसदहरूले क्यान्सर उपचारमा प्रयोग हुने सिस्प्लाटिन र कार्बोप्लाटिनको अभावबारे प्रश्न उठाएपछि मन्त्री मेहताले सरकारले यसअघि ११७ प्रकारका औषधीको मूल्य निर्धारण गरेको स्मरण गराउँदै तीमध्ये कार्बोप्लाटिन र सिस्प्लाटिन पनि रहेको बताइन्। उनका अनुसार ती औषधीको मूल्य करिब एक दशकदेखि समायोजन नभएको छ।
“विश्व बजारमै यी औषधीको अभाव भइरहेको अवस्थामा पुरानो मूल्य कायम रहँदा आपूर्तिमा थप समस्या देखिएको छ,” मन्त्री मेहताले भनिन्, “त्यसैले मूल्य समायोजनका लागि स्वचालित मूल्य निर्धारण प्रणाली लागू गर्ने तयारीमा छौं।”
मन्त्री मेहताका अनुसार हालका लागि सिस्प्लाटिन, कार्बोप्लाटिनलगायत क्यान्सरसम्बन्धी औषधी ११ वटा केन्द्रमार्फत वितरण भइरहेको छ। सरकारले आपूर्ति व्यवस्थापनलाई सहज बनाउन मूल्य पुनरावलोकनलाई प्राथमिकतामा राखेको उनले बताइन्।
औषधीको मूल्य लामो समयसम्म स्थिर रहँदा आयातकर्ता र उत्पादक दुवै पक्ष प्रभावित भएको भन्दै मन्त्रालयले बजार अवस्था, उत्पादन लागत र अन्तर्राष्ट्रिय मूल्यका आधारमा नयाँ प्रणाली लागू गर्ने तयारी गरेको जनाएको छ।


