

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी र दिगो बनाउन स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताएकी छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा आफ्नो मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले स्वास्थ्य बीमा प्रणालीमा सुधार ल्याउन विभिन्न नीतिगत परिवर्तनका विषयमा काम भइरहेको जानकारी दिइन्। उनले यस प्रक्रियामा सांसदसहित सरोकारवाला सबै पक्षबाट आवश्यक सुझाव र सहयोगको अपेक्षा समेत व्यक्त गरिन्।
मन्त्री मेहताका अनुसार आधारभूत स्वास्थ्य सेवालाई स्वास्थ्य बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रमा अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने तथा सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गत सञ्चालित स्वास्थ्य बीमा कार्यक्रमलाई हालको स्वास्थ्य बीमा प्रणालीमा समाहित गर्ने विषयमा मन्त्रालयले पहल गरिरहेको छ।
‘स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने, सबै संगठित क्षेत्रमा अनिवार्य स्वास्थ्य बीमा लागू गर्ने तथा सामाजिक स्वास्थ्य सुरक्षा कोषअन्तर्गतको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयमा पैरवी गरिरहेका छौं,’ मन्त्री मेहताले भनिन्, ‘यसका लागि सबै माननीय सदस्यहरूको ध्यानाकर्षण र सहयोग आवश्यक छ।’
उनले सरकारको नीति तथा कार्यक्रम तथा बजेटअनुसार मन्त्रालयले आगामी आर्थिक वर्षका कार्यक्रमहरू तय गरिसकेको बताइन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा बजेट विगतका वर्षहरूको तुलनामा बढी उपलब्धिमूलक, समृद्धिमुखी र परिणाममुखी रहेको उनको दाबी थियो।
मन्त्री मेहताले स्वास्थ्य क्षेत्रलाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै विगतको तुलनामा बढी बजेट विनियोजन गरिएको पनि बताइन्। उनका अनुसार स्वास्थ्य सेवाको पहुँच, गुणस्तर र प्रभावकारिता बढाउने लक्ष्यका साथ मन्त्रालयले विभिन्न सुधारका कार्यक्रम अघि बढाइरहेको छ।


