

काठमाडौं – क्यान्सर रोगको उपचारमा प्रयोग हुने कार्बोप्लाटिन तथा सिस्प्लाटिनजस्ता औषधिको आपूर्तिमा चुनौती देखिइरहेका बेला नेपाल औषधि आयातकर्ता संघ (मियान) को विस्तारित बैठक शुक्रबार चितवनको सौराहामा सम्पन्न भएको छ।
बैठकले औषधि आयात क्षेत्रमा देखिएका समस्या, अन्तर्राष्ट्रिय परिस्थितिका कारण आपूर्ति व्यवस्थामा परेको असर तथा संस्थाका आगामी कार्ययोजनाबारे छलफल गरेको छ।
मियानका अध्यक्ष पवन आचार्यले औषधि आयात क्षेत्रमा देखिएका समस्याको समाधानका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने निर्णय भएको बताए।
“पछिल्लो परिस्थितिको समीक्षा गर्दै औषधि आयातका क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने निर्णय गरेका छौँ,” आचार्यले भने, “नेपाली बिरामीले गुणस्तरीय औषधि पाउने नैसर्गिक अधिकारलाई पूर्ण रूपमा कार्यान्वयन गर्न मियानले आफ्नो जिम्मेवारी पूरा गर्ने विषयमा पनि बैठकमा छलफल भएको छ।”
बैठकमा मियानको आठौँ साधारणसभापछि निर्वाचित नयाँ कार्यसमितिले एक वर्षको अवधिमा गरेका कामको समीक्षा गर्नुका साथै आगामी दिनमा गर्नुपर्ने कामका विषयमा समेत छलफल गरेको थियो।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिले औषधि क्षेत्रमा पारेको प्रभावको मूल्यांकन गर्दै आवश्यक रणनीति तय गर्न विस्तारित बैठक आयोजना गरिएको बताए। “हाम्रो नयाँ समिति आएपछि के–के काम भयो र आगामी एक वर्षमा के–के गर्नुपर्छ भन्ने विषयमा विस्तृत छलफल भयो,” उनले भने, “पश्चिम एशियामा भइरहेको युद्धले औषधि तथा कच्चा पदार्थको उपलब्धता र ढुवानीमा पारेको असरबारे पनि समीक्षा गरिएकाे थियाे।”
उनले कार्बोप्लाटिन र सिस्प्लाटिनजस्ता क्यान्सर उपचारमा प्रयोग हुने इन्जेक्सनको आयातमा देखिएको समस्याबारे विशेष छलफल भएको जानकारी दिए।
“पछिल्लो समय कार्बोप्लाटिन र सिस्प्लाटिनजस्ता क्यान्सर औषधिको आयातमा देखिएको अफ्ठेरो र त्यसका लागि मियान तथा सदस्य संस्थाहरूले गरेको प्रयासको समीक्षा गर्यौँ,” उनले भने, “समस्या समाधानका लागि सरकारसँग सहकार्य गरेर अघि बढ्ने निष्कर्षमा पुगेका छौँ।”
औषधि उपलब्ध गराउने कम्पनी सम्मानित
बैठकमा क्यान्सर उपचारमा प्रयोग हुने कार्बोप्लाटिन तथा सिस्प्लाटिन इन्जेक्सनको अभावका बेला औषधि उपलब्ध गराउन भूमिका निर्वाह गरेका कम्पनी तथा तिनका प्रतिनिधिलाई सम्मान गरिएको छ।
सम्मानित हुनेहरूमा यतिकेम डिस्ट्रिब्युटर्सका पृथ्वीराज वैद्य, डीकेएम फर्मास्युटिकल्सका सुरज टिब्बटेवाल, आयान लाइफकेयरका डा. अबुल हुसेन अन्सारी, ताज नेपालका तारिक राना तथा सिजल फार्माका अञ्जन पुडासैनीलगायत रहेका छन्।
सम्मानबारे अध्यक्ष आचार्यले भने, “देशमा क्यान्सरको औषधि अभाव भइरहेका बेला उहाँहरूले विशेष पहल गरेर औषधि उपलब्ध गराउनुभयो। बिरामीको उपचारलाई निरन्तरता दिन उहाँहरूले पुर्याएको योगदानको सम्मानस्वरूप हामीले अभिनन्दन गरेका हौँ।”
बैठकले स्वास्थ्य तथा औषधि क्षेत्रका विषयमा कलम चलाउने दुई जना पत्रकारलाई हरेक वर्ष पुरस्कृत गर्ने निर्णय पनि गरेको छ। ‘उत्कृष्ट स्वास्थ्य पत्रकार पुरस्कार’ अन्तर्गत दुई जना पत्रकारलाई जनही ५१ हजार रुपैयाँ नगद तथा सम्मानपत्र प्रदान गरिनेछ।


