

काठमाडौं – नेपाली औषधि उद्योग म्याग्नस फार्मा प्रालि अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ बाट सम्मानित भएको छ। बेल्जियमको ब्रसेल्समा आयोजित कार्यक्रममा युरोपियन सोसाइटी फर क्वालिटी रिसर्च ले कम्पनीलाई उक्त सम्मान प्रदान गरेको हो।
कम्पनीले यस सम्मानलाई गुणस्तर, नवप्रवर्तन तथा औषधि उत्पादन प्रक्रियामा निरन्तर सुधारप्रतिको आफ्नो प्रतिबद्धताको अन्तर्राष्ट्रिय मान्यताका रूपमा लिएको जनाएको छ।
सन् २००७ मा स्थापना भएको म्याग्नस फार्माले सुरुदेखि नै गुणस्तरीय र नवीन उत्पादन विकासलाई प्राथमिकतामा राख्दै आएको छ। वीरगञ्जको रामपुरटोकनीस्थित उत्पादन केन्द्रमार्फत कम्पनीले विभिन्न समूहका औषधि उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास (डब्लुएचओ–जिएमपी) तथा आईएसओ प्रमाणित कम्पनीका रूपमा म्याग्नस फार्माले अन्तर्राष्ट्रिय मापदण्डअनुसार औषधि उत्पादन, गुणस्तर सुनिश्चितता र अनुसन्धानमा विशेष ध्यान दिँदै आएको छ। नेपालमै पहिलोपटक केही महत्वपूर्ण औषधि उत्पादन तथा बजारमा ल्याउने पहलले कम्पनीलाई स्वदेशी औषधि उद्योगमा अलग पहिचान दिलाएको छ।
सुरुवाती चरणमा ट्याब्लेट र क्याप्सुल उत्पादनबाट यात्रा थालेको कम्पनीले पछिल्ला वर्षहरूमा आफ्नो उत्पादन दायरा उल्लेखनीय रूपमा विस्तार गरेको छ। हाल कम्पनीले छाला सम्बन्धी क्रीम, आँखाका औषधि, नाकमा प्रयोग हुने स्प्रे तथा उच्च गुणस्तरका इन्जेक्टेबल औषधिसमेत उत्पादन गरिरहेको छ। यसबाट बिरामी, स्वास्थ्यकर्मी तथा औषधि बजारले थप विकल्प प्राप्त गरेका छन्।
म्याग्नस फार्माले स्वदेशी बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो उपस्थिति विस्तार गरिसकेको छ। कम्पनीले भेनेजुएला र मोरिससलगायत देशहरूमा औषधि निर्यात गर्दै नेपाली औषधि उद्योगको क्षमता विश्वसामु परिचित गराउने काम गरेको छ।
नेपालमा औषधि उत्पादनमा आत्मनिर्भरता अझै चुनौतीपूर्ण विषयका रूपमा रहेको अवस्थामा म्याग्नस फार्माको योगदानले स्वदेशी उत्पादनप्रतिको विश्वास बढाउन सहयोग पुगेको मानिन्छ।
म्याग्नस फार्माका प्रबन्ध निर्देशक सुधीर प्रकाश मास्के ले ‘क्वालिटी अचिभमेन्ट अवार्ड २०२६’ प्राप्ति कम्पनीका लागि मात्र नभई समग्र नेपाली औषधि उद्योगका लागि गौरवको विषय भएको बताए। उनका अनुसार गुणस्तर, अनुसन्धान, उत्पादन विविधीकरण तथा अन्तर्राष्ट्रिय बजार विस्तारमा केन्द्रित कम्पनीको निरन्तर प्रयासले नेपाललाई औषधि उत्पादनमा थप आत्मनिर्भर बनाउने अभियानलाई बल पुग्ने अपेक्षा गरिएको छ।


