

काठमाडौं- सरकारी निकायको ढिलासुस्ती र खरिद प्रक्रिया समयमै सम्पन्न हुन नसक्दा देशभर रेबिजविरुद्धको खोपको अभाव चुलिएको छ। प्राणघातक रोग रेबिजबाट नागरिकलाई जोगाउन सरकारले हरेक वर्ष करिब तीन लाख डोज खोप खरिद गरी सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क वितरण गर्दै आएको भए पनि यस वर्ष खोप खरिद प्रक्रिया समयमा टुंगिन नसक्दा अधिकांश सरकारी अस्पताल र स्वास्थ्य संस्थामा खोपको चरम अभाव देखिएको हो।
सरकारी स्वास्थ्य संस्थामा खोप नपाएपछि नागरिक निजी क्षेत्रबाट महँगो मूल्यमा खोप किन्न वा राजधानीसम्म पुग्न बाध्य भएका छन्। काभ्रेपलाञ्चोकको नालाकी ५५ वर्षीया गायत्री पाण्डे त्यसको एउटा उदाहरण हुन्। सामुदायिक कुकुरले टोकेपछि उनले सुरुमा नजिकैका स्वास्थ्य संस्थामा खोप खोजिन्। शिर मेमोरियल अस्पताल, धुलिखेललगायत विभिन्न सरकारी स्वास्थ्य संस्थामा पुग्दा पनि खोप नपाएपछि अन्ततः निजी फार्मेसीबाट एक हजार रुपैयाँ तिरेर पहिलो डोज लगाउनुपरेको उनले बताइन्।
रेबिजविरुद्धको खोप २८ दिनभित्र चार मात्रा लगाउनुपर्ने हुन्छ। निजी क्षेत्रमा प्रत्येक डोजका लागि करिब एक हजार रुपैयाँ खर्च गर्नुपर्ने भएकाले आर्थिक रूपमा कमजोर परिवारका लागि उपचार महँगो बन्दै गएको छ। दोस्रो मात्रा लगाउन सरकारी अस्पतालमा पुगे पनि खोप कहिले आउने भन्ने जानकारी नपाएपछि उनी झन्डै ३५ किलोमिटर टाढा रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगेकी थिइन्।
अस्पतालका अनुसार हाल दैनिक पाँच सयभन्दा बढी कुकुरले टोकेका व्यक्ति खोप लगाउन टेकु पुग्ने गरेका छन्। काठमाडौं उपत्यकाबाहेक सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवाजस्ता जिल्लाबाट समेत मानिसहरू खोपका लागि आउने क्रम बढेको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका वरिष्ठ अहेव शंकर पाण्डेका अनुसार अहिले निजी क्षेत्रमा पैसा तिरेर खोप लगाउने वा टेकु अस्पताल धाउनेबाहेक धेरैसँग विकल्प छैन। अस्पतालमा पनि केही सय डोज मात्रै बाँकी रहेकाले अवस्था झन् जटिल बन्न सक्ने उनको भनाइ छ। उनले खोप अभावकै कारण रेबिजबाट हुने मृत्युदर बढ्न सक्ने चेतावनी दिएका छन्।
खोपको अभाव गहिरिँदै गएपछि टेकु अस्पतालले काठमाडौं महानगरपालिकासँग तत्काल खोप उपलब्ध गराइदिन आग्रह गरेको छ। यसअघि अस्पतालले गण्डकी प्रदेश सरकारसँग पनि सहयोग मागेको थियो। गण्डकी प्रदेश सरकारले एक हजार डोज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ भने बागमती प्रदेश सरकारले उपलब्ध गराएको एक हजार डोज खोप दुई दिनमै सकिएको अस्पतालले जनाएको छ।
अस्पताल विकास समितिमार्फत खरिद गरिएको दुई हजार डोज खोपसमेत सकिइसकेको छ। तत्काल नयाँ आपूर्ति नभए कुकुरले टोकेका धेरै व्यक्तिहरू खोप सेवाबाट वञ्चित हुने जोखिम रहेको अस्पताल प्रशासनको भनाइ छ।
खोपको मौज्दात घट्दै गएपछि टेकु अस्पतालले चौबीसै घण्टा सञ्चालन गर्दै आएको रेबिज खोप सेवा पनि सीमित गरेको छ। हाल आकस्मिक कक्षबाट दोस्रो मात्रा वितरण बन्द गरिएको छ भने त्यस्ता सेवाग्राहीलाई ओपीडी समयमै खोप लगाउन आग्रह गरिएको छ।
संघीय सरकारले आवश्यक खोप उपलब्ध गराउन नसकेपछि बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले करिब एक महिनाअघि सात हजार डोज खोप खरिद गरेको थियो। तर त्यो मौज्दात पनि सकिन लागेको केन्द्रका सूचना अधिकारी नेल्सन महतले बताएका छन्। उनका अनुसार अस्पतालहरूले ठूलो परिमाणमा खोप मागे पनि केन्द्रले सीमित मात्रामा मात्रै उपलब्ध गराउन सकिरहेको छ।
देशभरका स्वास्थ्य संस्थामा रेबिज खोप आपूर्ति गर्ने जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भए पनि चालु आर्थिक वर्षमा महाशाखाले खोप खरिद गर्न सकेको छैन। त्यसपछि महाशाखाले प्रदेश सरकार र स्थानीय तहलाई आफैं खोप खरिद गर्न पत्राचार गरेको थियो। सोही आधारमा बागमती र गण्डकी प्रदेश सरकारले खोप खरिद प्रक्रिया अघि बढाएका थिए।
महाशाखाका अधिकारीहरूका अनुसार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँग पनि आपत्कालीन रूपमा खोप उपलब्ध गराइदिन अनुरोध गरिएको छ। डब्लूएचओले नेपाललाई ४ हजार ५ सय डोज खोप उपलब्ध गराउने जनाएको छ। तर उक्त परिमाणले पनि दीर्घकालीन समस्या समाधान नहुने स्वास्थ्य अधिकारीहरूको भनाइ छ।
रेबिज खोपको समस्या गत मंसिरदेखि नै देखिन थालेको थियो। महाशाखाले जेठ २९ गते मात्रै खोप खरिदका लागि टेन्डर आह्वान गर्ने तयारी गरेको छ। टेन्डर प्रक्रिया, ठेकेदार छनोट र खोप आयात गर्न लाग्ने समयलाई हेर्दा तत्काल समस्या समाधान हुने सम्भावना कम देखिएको छ।
टेकु अस्पतालको क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुनका अनुसार निःशुल्क खोप उपलब्ध नभएसम्म धेरै मानिस उपचारबाट वञ्चित हुने जोखिम रहन्छ। विशेषगरी आर्थिक अवस्था कमजोर भएका नागरिकले खोप नलगाउने सम्भावना बढ्ने भएकाले सार्वजनिक स्वास्थ्यमा गम्भीर चुनौती थपिन सक्ने उनले बताए।
रेबिज संक्रमित जनावर, विशेषगरी कुकुर र स्यालको र्यालमार्फत सर्ने घातक रोग हो। नेपालमा देखिने अधिकांश रेबिज संक्रमण कुकुरको टोकाइसँग सम्बन्धित छन्। विश्व स्वास्थ्य संगठनको लक्ष्यअनुसार नेपालले सन् २०३० सम्म कुकुरबाट सर्ने रेबिज उन्मूलन गर्ने लक्ष्य राखेको छ। डब्लूएचओका अनुसार रेबिजका कारण विश्वभर हरेक वर्ष करिब ५९ हजार मानिसको मृत्यु हुने गरेको छ, जसमा अधिकांश बालबालिका र विपन्न समुदायका नागरिक पर्ने गरेका छन्।



