

काठमाडौं- काठमाडौंको बालुवाटारस्थित ‘मारिया अस्पताल’ (मारिया हेल्थ सेन्टर प्रालि) गैरकानुनी रूपमा सञ्चालन भएको पाइएपछि हाललाई बन्द गरिएको छ।
नेपाल मेडिकल काउन्सिलले गरेको अनुगमनका क्रममा आवश्यक अनुमति बिना अस्पताल सञ्चालनमा रहेको भेटिएपछि सिलबन्दी गरी बन्द गरिएको काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
उनका अनुसार अनुमति बिना सञ्चालनमा रहेको उक्त संस्थाका सञ्चालकमाथि कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं र जिल्ला प्रहरी परिसरमा पत्राचार गरिएको छ।
काउन्सिलले आवश्यक अनुमति र क्लिनिकल मापदण्ड पूरा नगरी चिकित्सा अभ्यासमा संलग्न रहेको पाइएपछि तीन चिनियाँ नागरिकको चिकित्सक अभ्यास अस्थायी दर्ता तत्कालका लागि निलम्बन गरेको छ।
त्यसैगरी, उक्त संस्थाको बोर्डमा नाम राखी आचारसंहिता उल्लङ्घन गरेको आशंकामा संलग्न नेपाली चिकित्सकलाई पनि केही दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको डा. पाण्डेले बताए।
काउन्सिलले स्वास्थ्य सेवामा मापदण्ड पालना र कानुनी प्रक्रियाको कडाइका साथ अनुगमन जारी रहने जनाएको छ।


