

काठमाडौँ- स्वास्थ्य बीमामार्फत उपलब्ध गराइने र निजी औषधि पसलहरूमा बिक्री हुने औषधिको गुणस्तरमा कुनै भिन्नता नरहेको पाइएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राष्ट्रिय सतर्कता केन्द्रसँगको समन्वयमा गरेको तुलनात्मक गुणस्तर विश्लेषणले दुवै माध्यमबाट उपलब्ध हुने औषधिहरू समान रूपमा गुणस्तरीय र स्वीकृत मापदण्ड अनुकूल रहेको देखाएको हो।
नेपाल औषधि लिमिटेडबाट गरिएको प्रयोगशाला परीक्षणबाट मुटुरोग र मधुमेहका औषधिहरूको प्रभावकारिता र भौतिक गुणस्तरमा कुनै ‘क्लिनिकल’ भिन्नता नभेटिएको प्रतिवेदनले पुष्टि गरेको छ।
प्रधानमन्त्री बालेन्द्र शाहका स्वकीय उपसचिव प्रकृति ढकालका अनुसार बजारमा धेरै चल्ने औषधिहरू सङ्कलन गरी तीनको उत्पादक कम्पनी र स्रोत (बिमा वा निजी) को पहिचान लुकाएर परीक्षणका लागि पठाइएको थियो।
उच्च रक्तचाप र मुटुरोगमा व्यापक प्रयोग हुने ‘एम्लोडिपिन ५ एमजी’ र मधुमेहका बिरामीले प्रयोग गर्ने ‘मेटफर्मिन एचसीएल ५०० एमजी’ को नमूना जाँच गरिएको थियो।
उच्च रक्तचापको औषधि एम्लोडिपिनतर्फ बजारका फार्मेसी र स्वास्थ्य बिमा प्रणाली दुवैका नमूनामा औषधिको शक्ति (पोटेन्सी) प्रतिशत मापदण्ड भित्रै पाइएको छ। त्यसैगरी, औषधिको समान उपलब्धता (कन्टेन्ट युनिफर्मिटी) र घुलनशीलता (डिजोलुसन)मा समेत दुवै नमूना उत्कृष्ट पाइएका छन्।
मधुमेहको उपचारमा प्रयोग हुने मेटफर्मिनको ‘सस्टेन्ड रिलिज म्याट्रिक्स’ (शरीरमा बिस्तारै औषधि घुल्ने प्रक्रिया) दुवै औषधिमा उत्तिकै प्रभावकारी रूपमा सञ्चालित भएको पाइएको छ।
औषधि शरीरमा घुल्ने प्रक्रियाका विभिन्न चरणहरू एक घण्टा, तीन घण्टा र १० घण्टामा दुवै नमूनाले लगभग सँगसँगै र समान परिणाम देखाएका छन । यसले गर्दा दुवै औषधिले शरीरमा गर्ने काम र तिनको प्रभावकारितामा क्लिनिकल रूपमा कुनै पनि फरक नरहेको प्रतिवेदनमा उल्लेख छ।
नेपाल औषधि लिमिटेडका क्वालिटी असुरेन्स इञ्चार्ज हिना श्रेष्ठकाअनुसार ल्याब परीक्षणको अन्तर्राष्ट्रिय प्रोटोकल र फर्माकोपिया (औषधिसम्बन्धी आधिकारिक निर्देशिका)को मापदण्ड पालना गरेर यो विश्लेषण गरिएको हो।
फर्माकोपियाले तोकेको सीमा, रसायनको मात्रा र निश्चित विधिहरू अवलम्बन गर्दै अत्याधुनिक उपकरणको प्रयोग गरी औषधिहरूको परीक्षण गरिएको थियो । ती सबै परीक्षणमा दुवैतर्फका औषधिहरू तोकिएको मापदण्डभित्रै पूर्ण रूपमा सुरक्षित, सबल र समान गुणस्तरका पाइएकाले यो प्रतिवेदनले बीमाको औषधिको उच्च स्तरलाई वैज्ञानिक रूपमै प्रमाणित गरेको बताइएको छ।
“स्वास्थ्य बिमाको औषधि कमसल हुने र यसले काम गर्दैन भन्ने गुनासो आएपछि प्रधानमन्त्री कार्यालयले यो विशेष अनुसन्धान प्रक्रिया अघि बढाएको हो”, प्रधानमन्त्री वालेन्द्र शाहका स्वकीय उपसचिव ढकालले भनिन्।
अनुसन्धानको निष्पक्षता कायम राख्न कम्पनीको ब्रान्ड र नाम गोप्य राखेर गरिएको यस परीक्षणले बिमा र निजी बजारका औषधिमा कुनै भिन्नता नदेखाएकाले बिमाको औषधिप्रति शङ्का नगर्न र भ्रममा नपर्न सचिवालयले जनतालाई आग्रह गरेको छ।


