

काठमाडौं – चिकित्सकहरूले पछिल्लो समय सामाजिक सञ्जालमार्फत स्वास्थ्यसम्बन्धी जानकारी, रोगको उपचार र चिकित्सकीय सल्लाह दिने क्रम बढ्दै गएपछि नेपाल मेडिकल काउन्सिलले सामाजिक सञ्जाल प्रयोगसम्बन्धी आचारसंहिता जारी गरेको छ।
काउन्सिलले चिकित्सकहरूका लागि आठ बुँदे आचारसंहिता सार्वजनिक गर्दै सामाजिक सञ्जाल तथा विद्युतीय माध्यममा स्वास्थ्यसम्बन्धी सामग्री प्रकाशन गर्दा व्यावसायिक मर्यादा र वैज्ञानिक प्रमाणको पालना गर्न निर्देशन दिएको हो।
नयाँ व्यवस्थाअनुसार चिकित्सकले नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका उपाधि र योग्यताबाहेक अन्य उपाधि प्रयोग गर्न पाउने छैनन्। औपचारिक रूपमा प्राप्त विशेषज्ञता वा शैक्षिक योग्यताभन्दा बाहिर गएर व्यक्तिगत प्रचारप्रसार गर्न पनि रोक लगाइएको छ।
काउन्सिलले सामाजिक सञ्जालमा राखिने सामग्री तथ्यपरक, सान्दर्भिक र वैज्ञानिक आधारमा प्रमाणित हुनुपर्ने स्पष्ट पारेको छ। उपचार वा रोगसम्बन्धी जानकारी दिँदा वैज्ञानिक रूपमा स्थापित तथ्य मात्र प्रस्तुत गर्नुपर्नेछ भने अप्रमाणित वा आफूखुशी विकसित गरिएको उपचार विधिको प्रचार गर्न नपाइने व्यवस्था गरिएको छ।
त्यस्तै, कुनै बिरामीको रोग वा स्वास्थ्य अवस्थासम्बन्धी जानकारी सार्वजनिक गर्नुअघि सम्बन्धित व्यक्तिको स्वीकृति अनिवार्य रूपमा लिनुपर्नेछ।
आचारसंहिताअनुसार चिकित्सकले सामाजिक सञ्जालमार्फत दिएका सुझाव, सल्लाह वा अभिव्यक्तिको लिखित अभिलेख सुरक्षित राख्नुपर्नेछ। साथै, कुनै रोगको निदान वा उपचारका लागि प्रत्यक्ष परीक्षण आवश्यक देखिएमा बिरामीको भौतिक जाँच नगरी उपचारसम्बन्धी सुझाव दिन नहुने उल्लेख गरिएको छ।
काउन्सिलले अन्य व्यक्ति वा संस्थाका विचार तथा कार्यप्रति आलोचना गर्दा पनि तथ्यमा आधारित हुनुपर्ने र अपमानजनक वा मर्यादाविपरीत शब्द प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ।


