

काठमाडाैं- नेपालमा स्वास्थ्य संस्थामै सुत्केरी हुने दर १०० मध्ये ९१ प्रतिशत पुगेको तथ्य सार्वजनिक भएको छ। यो दर राष्ट्रिय योजना आयोगले सन् २०२३ का लागि तय गरेको ९० प्रतिशत लक्ष्यभन्दा पनि माथि रहेको देखिएको छ।
सन् २०१९ को एमआईसीएस सर्वेक्षणको तुलनामा संस्थागत सुत्केरी हुने दर १३ प्रतिशतले वृद्धि भएको छ।
युनिसेफले सार्वजनिक गरेको नेपाल मल्टिपल इन्डिकेटर क्लस्टर सर्वेक्षण २०२४/२५ अनुसार नवजात शिशुलाई जन्मिएको पहिलो एक घण्टाभित्र स्तनपान गराउने दर ३८ प्रतिशतमा सीमित छ। यो दर सन् २०१९ को तुलनामा चार प्रतिशतले घटेको तथ्यांकले देखाएको छ।
पाँच वर्षमुनिका बालबालिकाको पोषण अवस्थाबारेको तथ्यांकअनुसार २६ प्रतिशत बालबालिका पुड्कोपन (स्टन्टिङ) बाट प्रभावित छन्। यद्यपि यो दर सन् २०१९ को तुलनामा ६ प्रतिशतले घटेको छ।
त्यस्तै, पाँच वर्षमुनिका ७ प्रतिशत बालबालिका ख्याउटेपन (वेस्टिङ) बाट प्रभावित रहेको पनि सर्वेक्षणले देखाएको छ, जुन अघिल्लो सर्वेक्षणको तुलनामा ५ प्रतिशतले कमी हो।
बाल पोषणतर्फ केही सकारात्मक सुधार देखिएको छ। न्यूनतम खाद्य विविधता पूरा गर्ने बालबालिकाको दर ५२ प्रतिशत पुगेको छ, जुन सन् २०१९ को तुलनामा १२ प्रतिशतले वृद्धि हो।
त्यसैगरी, १५ देखि १९ वर्ष उमेर समूहका ९ प्रतिशत किशोरकिशोरी डिप्रेसन वा चिन्ता जस्ता मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको तथ्यांकमा उल्लेख छ।
सर्वेक्षणअनुसार १०० मध्ये ७ जना महिलाले २० वर्ष नपुग्दै सन्तान जन्माउने गरेका छन्, जुन सन् २०१९ को तुलनामा २ प्रतिशतले कमी हो।


