

काठमाडौं – औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि देशका ११ वटा तोकिएका स्वास्थ्य संस्था तथा फार्मेसीमा उपलब्ध रहेको जनाएको छ।
मंगलबार सूचना जारी गर्दै विभागले क्यान्सर रोगीहरूको उपचारमा प्रयोग हुने सिस्प्लाटिन इन्जेक्सन र कार्बोप्लाटिन इन्जेक्सन लगायतका औषधि निश्चित स्वास्थ्य संस्थामार्फत वितरण भइरहेको जानकारी दिएको हो।
विभागका अनुसार औषधि आवश्यक पर्ने बिरामीहरूले चिकित्सकको सक्कल पुर्जा (प्रेस्क्रिप्सन) सहित सम्बन्धित स्वास्थ्य संस्थाका सम्पर्क व्यक्तिसँग समन्वय गरी औषधि प्राप्त गर्न सक्नेछन्। साथै, औषधिको मौज्दात र वितरण प्रक्रियालाई व्यवस्थित बनाउन सम्बन्धित संस्थाहरूलाई स्पष्ट अभिलेख राख्न निर्देशन दिइएको छ।
औषधि व्यवस्था विभागका वरिष्ठ औषधि व्यवस्थापक किरणसुन्दर बज्राचार्यद्वारा हस्ताक्षरित सूचनाअनुसार नेपालका विभिन्न सहरस्थित स्वास्थ्य संस्था तथा फार्मेसीमा उक्त औषधि उपलब्ध छ।
औषधि उपलब्ध रहेका संस्थाहरूमा नेपालगञ्जको जानकी अस्पताल, बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल, विराटनगरको विराट मेडिकल कलेज, पोखराका बबिना फर्मा र मल्ल फार्मास्युटिकल्स, धरानको पुनम फार्मेसी, भरतपुरको राज ड्रग प्रालि तथा काठमाडौंका डिएमके फार्मास्युटिकल्स, सिजल फर्मा र अनमोल हेल्थ केयर रहेका छन्।
क्यान्सर उपचारमा प्रयोग हुने औषधिको आपूर्ति र उपलब्धताबारे विभिन्न तहमा चासो बढिरहेका बेला विभागले बिरामीलाई सहज पहुँच सुनिश्चित गर्न उपलब्ध संस्थाहरूको विवरण सार्वजनिक गरेको हो।



