

काठमाडौं – गृह मन्त्रालयले नेपाल प्रहरीको प्राविधिक समूहअन्तर्गत कार्यरत प्रहरी निरीक्षक (इन्सपेक्टर) डा. विवेक पन्थीविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको छ। मन्त्रालयले उनलाई स्पष्टीकरणसहित कार्यालयमा हाजिर हुन सार्वजनिक सूचना जारी गरेको हो।
कर्णाली प्रदेश प्रहरी अस्पताल, सुर्खेतमा कार्यरत डा. पन्थीले गत चैत २६ गतेदेखि दुई दिनको भइपरी बिदा स्वीकृत गराएका थिए। तर बिदा अवधि सकिएपछि चैत ३० गतेदेखि उनी कार्यालयमा उपस्थित नभएको र कुनै जानकारीसमेत नगराई गैरहाजिर रहेको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सम्बन्धित कार्यालय तथा स्थानीय तहमार्फत खोजतलास गर्दा पनि उनी सम्पर्कमा आउन सकेका छैनन्। त्यसपछि प्रहरी नियमावली, २०७१ (संशोधनसहित) मा व्यवस्था भएअनुसार आवश्यक प्रक्रिया अगाडि बढाइएको हो।
यसैक्रममा गृह मन्त्रालयले गोरखापत्रमार्फत सार्वजनिक सूचना प्रकाशित गर्दै बाटोको म्यादबाहेक सात दिनभित्र गैरहाजिर हुनुको कारण खुलाएर सन्तोषजनक स्पष्टीकरणसहित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।
मन्त्रालयले तोकिएको अवधिभित्र उपस्थित नभए प्रहरी नियमावलीअनुसार भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने प्रक्रिया अघि बढाइने चेतावनीसमेत दिएको छ।
डा. पन्थी लामो समयदेखि सम्पर्कविहीन भएपछि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै स्पष्टीकरण मागेको हो।


