

काठमाडौं ।- टाउको दुख्ने समस्या अधिकांश मानिसले कुनै न कुनै समयमा अनुभव गरेका हुन्छन्। तर टाउको दुख्नासाथ धेरैलाई एउटा डर लाग्ने गर्छ, कतै ब्रेन ट्युमर त होइन ? सामाजिक सञ्जाल र विभिन्न अपुष्ट सूचनाका कारण पनि यसबारे अनेक भ्रम फैलिएका छन्। विशेषज्ञहरू भने टाउको दुख्दैमा ब्रेन ट्युमर भएको निष्कर्षमा पुग्न नहुने बताउँछन्।
बीएण्डबी अस्पतालमा कार्यरत सिनिअर कन्सल्टेन्ट न्यूरोसर्जन डा. शिखर श्रेष्ठका अनुसार ब्रेन ट्युमर भन्नासाथ क्यान्सर भन्ने बुझाइ गलत हो। “ट्युमर भनेको शरीरका कोषिकाहरू असामान्य रूपमा वृद्धि भएर बनेको गाँठो वा मासु हो। सबै ब्रेन ट्युमर क्यान्सर हुँदैनन्,” उनले भने।
उनका अनुसार केही ट्युमर सौम्य प्रकृतिका हुन्छन् भने केही घातक हुन सक्छन्। त्यसैले ब्रेन ट्युमर पत्ता लाग्दैमा बिरामी र परिवार आत्तिनु आवश्यक नहुने उनी बताउँछन्।
सबै टाउको दुखाइ ट्युमरको संकेत होइन
टाउको दुखाइका कारण धेरै हुन सक्छन्। तनाव, अनिद्रा, माइग्रेन, उच्च रक्तचाप, आँखाको समस्या, अत्यधिक कामको चाप वा अन्य सामान्य स्वास्थ्य समस्याका कारण पनि टाउको दुख्न सक्छ।
“अधिकांश टाउको दुखाइ ब्रेन ट्युमरसँग सम्बन्धित हुँदैनन्,” डा. श्रेष्ठ भन्छन्, “तर लामो समयसम्म लगातार टाउको दुख्ने, विशेषगरी बिहान उठ्दा बढी दुख्ने, औषधि खाँदा पनि निको नहुने वा बिस्तारै समस्या बढ्दै जाने अवस्था देखिएमा चिकित्सकसँग परामर्श लिनुपर्छ।”
उनका अनुसार टाउको दुखाइसँगै हातखुट्टा कमजोर हुने, शरीरको कुनै भाग नचल्ने, बोली अस्पष्ट हुने, दृष्टि धमिलो हुने, सन्तुलन बिग्रने वा मिर्गीजस्ता लक्षण देखिएमा तत्काल जाँच गराउनु आवश्यक हुन्छ।
मोबाइल र कम्प्युटरले ब्रेन ट्युमर गराउँछ ?
आधुनिक जीवनशैलीसँगै यो प्रश्न पनि बारम्बार उठ्ने गरेको छ। लामो समय मोबाइल चलाउने, हेडफोन प्रयोग गर्ने वा कम्प्युटर अगाडि बस्ने व्यक्तिहरूमा ब्रेन ट्युमरको जोखिम बढ्छ कि भन्ने चिन्ता धेरैमा देखिन्छ।
डा. श्रेष्ठका अनुसार हालसम्म मोबाइल फोन, कम्प्युटर वा अन्य डिजिटल उपकरणको प्रयोगले प्रत्यक्ष रूपमा ब्रेन ट्युमर गराउँछ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण फेला परेको छैन।
“मोबाइल र हेडफोनबाट विभिन्न प्रकारका तरङ्ग निस्किए पनि तिनले ब्रेन ट्युमर गराउँछन् भन्ने कुरा अहिलेसम्म पुष्टि भएको छैन,” उनले भने।
यद्यपि अत्यधिक स्क्रीन प्रयोगले निद्रामा समस्या, मानसिक तनाव, आँखाको थकान तथा टाउको दुख्ने समस्या भने बढाउन सक्ने चिकित्सकहरू बताउँछन्।
जुनसुकै उमेरमा हुन सक्छ
ब्रेन ट्युमर वृद्धवृद्धामा मात्र हुने रोग भन्ने धारणा पनि सही होइन। चिकित्सकहरूका अनुसार यो रोग बालबालिकादेखि वृद्धसम्म जुनसुकै उमेर समूहमा देखिन सक्छ।
डा. श्रेष्ठका अनुसार चार वर्षका बालकमा समेत ब्रेन ट्युमर देखिएको उदाहरण छ। त्यसैले उमेरका आधारमा मात्र जोखिमको मूल्याङ्कन गर्न नहुने उनी बताउँछन्।
समयमै पहिचान भए उपचार सम्भव
ब्रेन ट्युमरको उपचार ट्युमरको प्रकार, आकार, स्थान र बिरामीको स्वास्थ्य अवस्थाअनुसार फरक–फरक हुन्छ। शल्यक्रिया, रेडियोथेरापी, केमोथेरापी तथा अन्य आधुनिक उपचार विधिबाट धेरै बिरामीले सामान्य जीवनयापन गर्न सक्ने अवस्था रहेको उनी बताउँछन्।
उनका अनुसार सबैभन्दा महत्वपूर्ण कुरा समयमै रोग पहिचान गर्नु हो। लामो समयसम्म टाउको दुख्ने, मिर्गीको नयाँ समस्या देखिने, हातखुट्टा कमजोर हुने वा स्नायु प्रणालीसँग सम्बन्धित असामान्य लक्षण देखिएमा जाँच गराउन ढिलाइ गर्नु हुँदैन।
नेपालमा पछिल्लो समय ब्रेन ट्युमरका बिरामीको संख्या बढ्दो क्रममा देखिएको छ। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अनुसार विगत एक वर्षमा मात्र बिरामीको संख्या १५.४ प्रतिशतले वृद्धि भएको छ।
केन्द्रको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१ मा २ हजार ६०० जना बिरामीले उपचार गराएका थिए भने २०८२ मा यो संख्या बढेर करिब ३ हजार पुगेको छ।
डा. श्रेष्ठका अनुसार बिरामीको संख्या बढेको देखिनुको मुख्य कारण रोगको वास्तविक वृद्धि मात्र होइन, आधुनिक प्रविधिको पहुँच पनि हो।
“पहिले धेरै बिरामी पहिचान नै हुँदैनथे। अहिले एमआरआई, सीटी स्क्यान लगायतका परीक्षण सहज रूपमा उपलब्ध छन्। जनचेतना पनि बढेको छ। त्यसैले पहिले छुट्ने बिरामीहरू अहिले पहिचान भइरहेका छन्,” उनले भने।


