

काठमाडौं- नेपालमा सुर्तीजन्य पदार्थको सेवनका कारण दैनिक औसत ७३ जनाले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ। नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार देशमा हुने प्रत्येक १० मृत्युमध्ये झन्डै दुई जनाको मृत्यु सुर्तीजन्य पदार्थको प्रयोगसँग सम्बन्धित छ।
प्रतिवेदनले नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या निरन्तर बढिरहेको पनि देखाएको छ। सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतका निकायले गरेको ‘स्टेप्स सर्वेक्षण’ अनुसार १५ देखि ६९ वर्ष उमेर समूहका २८.९ प्रतिशत नागरिकले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका थिए। पछिल्ला अध्ययनहरूले यो दर ३२ प्रतिशतभन्दा माथि पुगेको देखाएका छन्।
स्वास्थ्य विज्ञहरूका अनुसार सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोगलगायत नसर्ने रोगको जोखिम उल्लेख्य रूपमा बढाएको छ। विश्वव्यापी तथ्यांकले करिब ३० प्रतिशत क्यान्सरका घटनाहरू सुर्तीजन्य पदार्थको प्रयोगसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको देखाउँछ।
हालै सम्पन्न राष्ट्रिय बहुसूचक सर्वेक्षण (नेसनल मल्टिइन्डिकेटर सर्भे) अनुसार नेपालका करिब ४२ प्रतिशत पुरुषले पछिल्लो एक महिनाभित्र कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गरेका छन्। महिलामा भने यसको प्रयोग अपेक्षाकृत कम रहेको छ। प्रदेशगत रूपमा कर्णाली र मधेस प्रदेशमा सुर्तीजन्य पदार्थको प्रयोग सबैभन्दा बढी रहेको अध्ययनले देखाएको छ।
अध्ययनअनुसार सुर्ती सेवनको लत अधिकांशमा किशोरावस्थामै सुरु हुने गरेको छ। नेपालीहरूले औसतमा १३ वर्षको उमेरमै सुर्तीजन्य पदार्थ प्रयोग गर्न थाल्ने गरेका छन् भने धेरैजसो प्रयोगकर्ताले १५ वर्ष नपुग्दै यसको सेवन सुरु गरिसकेका हुन्छन्।
विगत दुई दशकमा धुम्रपान गर्नेको संख्या घटेको देखिए पनि सुर्तीरहित सुर्तीजन्य पदार्थको प्रयोग बढ्दो क्रममा छ। धुम्रपान गर्नेको दर ३१.८ प्रतिशतबाट घटेर करिब १५ प्रतिशतमा झरेको छ। तर गुट्खा, खैनी, पान मसला लगायतका चपाउने सुर्तीजन्य पदार्थको प्रयोग भने वृद्धि भएको छ।
तथ्यांकअनुसार सन् २०२० देखि २०२४ को अवधिमा सुर्तीरहित सुर्तीजन्य पदार्थको प्रयोग ३१.८ प्रतिशतबाट बढेर ३४ प्रतिशत पुगेको छ। विशेषगरी तराई क्षेत्रमा यस्ता पदार्थको प्रयोग उच्च रहेको पाइएको छ।
विशेषज्ञहरूका अनुसार मुटुरोग, क्यान्सर तथा श्वासप्रश्वाससम्बन्धी रोगमा सुर्तीजन्य पदार्थको ठूलो योगदान छ। मुटुसम्बन्धी रोगका ५३ प्रतिशत र श्वासप्रश्वास तथा क्यान्सरसँग सम्बन्धित करिब २१ प्रतिशत समस्या सुर्ती सेवनसँग प्रत्यक्ष रूपमा जोडिएका छन्।
अर्कोतर्फ, दोस्रो तहको धुम्रपान (सेकेन्ड ह्यान्ड स्मोक) पनि गम्भीर चुनौतीका रूपमा देखिएको छ। नेपालमा ३३.५ प्रतिशत वयस्क आफ्नै घरमा अरूले सेवन गरेको चुरोट वा सुर्तीजन्य पदार्थको धुवाँबाट प्रभावित हुने गरेका छन्। यसबाट बालबालिका र महिलाहरू बढी जोखिममा रहेको अध्ययनले औंल्याएको छ।
अनुसन्धान प्रतिवेदनमा सुर्तीजन्य पदार्थले स्वास्थ्य क्षेत्रमा मात्र नभई अर्थतन्त्रमा पनि ठूलो भार थपिरहेको उल्लेख छ। तथ्यांकअनुसार सुर्तीजन्य पदार्थका कारण नेपालले वार्षिक करिब १३ अर्ब रुपैयाँ बराबरको आर्थिक क्षति व्यहोर्दै आएको छ।
नेपाल सुर्तीजन्य पदार्थका प्याकेटमा ९० प्रतिशत स्वास्थ्य चेतावनीमूलक सन्देश अनिवार्य गर्ने विश्वका अग्रणी मुलुकमध्ये एक भए पनि कानुन कार्यान्वयन अपेक्षाकृत कमजोर रहेको विज्ञहरूको भनाइ छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर वृद्धि गर्न सिफारिस गर्दै आएको छ। तर नेपालमा करको दर उल्लेख्य रूपमा बढ्न नसकेको विज्ञहरूको निष्कर्ष छ। उनीहरूका अनुसार कर वृद्धि र प्रभावकारी अनुगमन गर्न सके सुर्तीजन्य पदार्थको खपत घटाउनुका साथै सरकारी राजस्व वृद्धि गर्न पनि मद्दत पुग्नेछ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको सहकार्यमा गरिएको उक्त अनुसन्धानले सुर्तीजन्य पदार्थका कारण देशमा नसर्ने रोगको भार र मृत्युदर दुवै बढिरहेको निष्कर्ष निकालेको छ।
प्रतिवेदनअनुसार नेपालमा हाल करिब २८ लाख नागरिक नियमित रूपमा धुम्रपान गर्छन्। फोक्सोको क्यान्सर, मुटुरोग, मस्तिष्कघात तथा श्वासप्रश्वाससम्बन्धी रोगका प्रमुख जोखिम कारकमध्ये धुम्रपान अग्रस्थानमा रहेको अध्ययनले उल्लेख गरेको छ।
प्रदेशगत विश्लेषणमा कर्णाली र मधेस प्रदेशमा सुर्तीजन्य पदार्थ प्रयोग गर्नेको संख्या सबैभन्दा बढी देखिएको छ। कर्णालीमा धुम्रपान गर्नेको संख्या उच्च रहेको छ भने मधेस प्रदेशमा खैनी, गुट्खा तथा अन्य चपाउने सुर्तीजन्य पदार्थको प्रयोग बढी रहेको पाइएको छ।


